काठमाडौँ । लगातारको वर्षाले काठमाडौंको बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलाहरू उर्लिदा नदी किनारमा रहेका घर टहराहरू र त्यसमा बसोबास गर्ने मानिस एवं चौपाया समेत जोखिममा परे । काठमाडौं डुवानमा पर्नुमा धेरैले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को दोषी रहेको भन्दै आलोचना गरिरहेका छन् । उता, सुकुम्बासी समस्यामा त बालेन र एमाले नेताहरू आमनेसामने नै भएका छन् ।
मनसुनी वायुको सक्रिय प्रभावले भारी वर्षा हुँदा यो वर्ष पनि काठमाडौँमा बाढीले वितण्डा मच्चायो । उपत्यकाको बागमती, विष्णुमती र धोबीखोला किनारका बल्खु, टेकु, थापाथली, शंख पार्क, यूएन पार्कलगायतका क्षेत्रमा डुवान परे । त्यस्तै भक्तपुरको मनहरा खोला आसपास पनि डुवानमा प¥यो । हनुमन्ते खोलामा आएको बाढीले झन धेरै क्षति पुर्याएको छ । काठमाडौं उपत्यकामा वर्षोनी आउने बाढीले ठूलो धनजनको क्षति हुनेगरेको छ भने भौतिक संरचनाहरू पनि तहसनहस हुने गरेको छ ।
हरेक वर्षको समस्यामा पनि आवश्यक तयारी नपुग्दा दुर्घटना बढ्ने गरेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिदा यसै कारण सवारी दुर्घटना यस वर्ष पनि भए । वर्षा हुनासाथ लैन्चौर, नयाँबानेश्वर, सिंहदरबार, पुतलीसडकलगायतका मुख्य सडक र टेकु, थापाथली, यूएन पार्क, शंखकुल, च्यासललगायतका सहायक सडकमा पानी जम्दा सवारी साधान र पैदल यात्रीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् ।
वर्खाका समयमा काठमाडौं महानगरको चुनौती थापाथलीको सुकुम्बासी बस्ती हुने गरेको छ । वर्षोनी हुने डुवानका कारण जोखिम हुँदा पनि त्यहाँको वस्ती स्थानातरण हुन सकेको छैन । परिणाम स्वरुप महानगर र एमालेको वाक युद्ध शुरु भएको छ । सुकुम्बासी बस्ती डुवानमा पर्दा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले सुकुम्बासीकोे जीवनसँग खेलवाड गरेर भोटको राजनीति गरेको भन्दै ‘गिरिबन्धु’संग लगेर जोडेका छन् । महानगरले भत्काउने काम मात्र गरेको भन्दै एमाले नेताहरू बालेन प्रति व्यंग्य कसिरहेका छन् । फोडेर अलपत्र बनाएका संरचनाहरु कसले बनाइदिने ? काठमाडौंबासीको सम्पति कति नष्ट गर्नु भयो ? लगायतका प्रश्नले बालेन घेरिएका छन् ।
मेयर बालेनले मात्रै होइन, राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले पनि खोला छेउमा बनेका घरटहरामा राजनीति भएको भन्दै ‘अग्रगमनको बाढी’ भनेका छन् ।
काठमाडौंको बाढीलाई महानगरको डोजर अभियानसँग पनि जोडेर हेरिएको छ । खोलामाथि बनेका अवैध संरचना हटाउने भन्दै ‘टुकुचा’ खोज्न बालेन आफै निस्किएका थिए । जसको पुनर्निमाणको थालनी पनि गरिएको छैन । केही वर्ष अगाडि कपन मिलनचोक क्षेत्रबाट ढलमा पसेर एक बालकको निधन भयो भने गत वर्ष मात्रै पनि सामाखुसी क्षेत्रमा एकले ज्यान गुमाउनु प¥यो । खोला छोपेर स्ल्याब बनाएको भन्दै सामाखुसीमा खोला खुला छोड्ने अभियानलाई तिब्रता दिए । तर, एकवर्ष देखि भत्काएका संरचनाहरू यत्र तत्र छरिएका छन् । र भत्काएका संरचनाहरूको व्यवस्थापन नगर्दा वर्खाको समयमा स्थानियहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । स्ल्याब हटाइसकेलगत्तै त्यस क्षेत्रलाई करिडोरका रूपमा विस्तार गरेर हरियाली कायम गरिने महानगरको योजनामा मात्रै सीमित छ ।
खोला मिचेर बस्ती विस्तार गरिएको भन्दै कपनमा डोजर चलाएको महानगरले त्यस क्षेत्रमा दुत्रगतिमा निर्माण र व्यवस्थापनको काम अघि बढेको छैन । जसका कारण सर्वसाधारणले पनि बाढीका तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्दै बालेन शहर भनेका छन् । भत्काउँदै छोड्ने गरेको आरोपका बीचमा महानगरले योजना र बजेट विनियोजन भएका स्थानमा मात्रै डोजर चलाउने भनेको थियो । तर, महानगरले भत्काएका संरचनामाथि झारपात उम्रेका छन् । पूर्वाधारका काम कछुवाको गतिमा अघि बढ्दा नागरिकले प्रश्न उठाउनु स्वभाविक हो । र, महानगर यसतर्फ सचेत हुन पनि आवश्यक छ ।