News 24 Television
बनेन पहिरे खोलामा पुल, बर्षामा जोखिमपूर्ण यात्रा 

ओखलढुङ्गा । ओखलढुंगाको रामपुर—ओखलढुंगा सडक जिल्लाको निकै ब्यस्त सडक हो । तर सडककै बिचमा पर्ने पहिरे खोलामा पुल नहुँदा वर्षौँदेखि दैनिक नागरिकले सास्ती खेप्दै आएका छन । 

खोलामा भारी बर्षा हुनासाथ माथिबाट लेदोसहितको माटो झरेर मानिस नै हिँड्न नसक्ने गरी पटक पटक सडक अबरुद्ध हुने गरेको छ । वर्षातको समयमा मात्रै यो समस्या देखिने भन्दै दीर्घकालीन समस्या समाधानमा ध्यान नपुग्दा मानिसहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । 

यो दृश्य हो, ओखलढुंगाको रामपुर—ओखलढुंगा सडकखण्ड अन्तर्गत मोलुङ गाउँपालिका १ र २ नम्बर वडाको बिचमा पर्ने पहिरे खोलाको । 

हिउँदको समयमा कमिला कुद्ने यो खोला वर्षायाम सुरु हुने वित्तिकै सर्वसाधारणको टाउको दुखाईको विषय बन्छ । मध्यम बर्षा हुनासाथ माथिबाट भल र लेदो सहितको माटो बगेर आउने हुँदा यहाँ घण्टौँसम्म बाटो अबरुद्ध हुने गरेको छ । खोलामा पुल नहुँदा सर्वसाधारणले ज्यान नै जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।

जिल्लाको मोलुङ गाउँपालिका सहित खिजीदेम्बा, लिखु, सुनकोशी र चम्पादेवी गाउँपालिकाबाट जिल्ला भित्रिने मुख्य सडकको बिचमा यो खोला छ । 

मोलुङ गाउँपालिकाको मात्रै कुन्तादेवी, जरायोटार, बुङनाम, साउने, ढकालगाउँ, रामपुर, प्राप्चा, मिलनचोक लगायतका विभिन्न क्षेत्रबाट सयौँको संख्यामा दैनिक रुपमा विद्यार्थी, कर्मचारी लगायत  सर्वसाधरण सदरमुकाम आउजाउ गर्ने गर्छन । तर मध्यम वर्षा हुनाथास बिच बाटोमै खोलाले बाटो छेक्दा घण्टौँसम्म वारीको वारी र पारीको पारी नै रोकिनु पर्ने बाध्यात्मक परिस्थिति छ । 

अबरुद्ध सडक जेसिभी प्रयोग गरेर खुलाउने गरिएको छ । तर भारी वर्षा हुनासाथ पुनः अवरुद्ध हुने हुँदा समस्या जिउँकातिउँ छ । यता स्थानीय सकारका जनप्रतिनिधि भने प्रदेश र केन्द्रीय स्तरका जनप्रतिनिधिको कमजोरीका कारण पुल बन्न नसकेको बताउँछन । 

बिशेष गरी प्रदेशमा पटक पटकको सरकार परिवर्तनका कारण पनि यो खोलामा पुल बन्न सकेको छैन । हरेक चुनावको समयमा विभिन्न दलको चुनावी एजेण्डा समेत बन्दै आएको यो खोलामा अझै कहिलेसम्म नागरिकले सास्ती खेप्नुपर्ने हो पत्तो छैन । 

एउटा पुल मात्रै बनाउन सके समस्याको समाधान हुने भएकाले यसतर्फ स्थानीयदेखि केन्द्र सरकारले समेत चासो दिन आवश्यक छ ।

 

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update