News 24 Television
राजा महेन्द्रको दरबारमा घुम्ने अवसर, दरबारमा अब यस्तो ! 

चितवन । चितवनको आँपटारीस्थित ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले बंगला अवलोकन शुभारम्भ कार्यक्रमको उद्घाटन गरे । 

जंगलभित्र रहेको दरबार नजिकै उत्तरमा नारायणी नदी पनि छ । दरबार क्षेत्र इतिहास बुझ्न र अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त स्थल हुने देखिएको छ । 

चितवनस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार दियालो बंगलाको अवलोकन शुभारम्भ  गर्दै सर्वसाधारणका लागि समेत खुल्ला गरिएको जानकारी गराए । 

भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न साथै एउटा शासन व्यवस्थासँग सम्बन्धित बंगला भएकाले जसको बारेमा देशीविदेशी सबैले अध्ययन र अवलोकन गर्न पाउनुपर्छ भनेर सबैका लागि खुला गरिएको हो ।

दियालो बंगला विगतमा राजाहरूले प्रयोगमा ल्याएका थिए । हाल नेपाल ट्रष्टको नाममा रहेको छ दियालो बंगला । नेपाल ट्रष्टसँग भरतपुर महानगरपालिकाले गत चैतमा सम्झौता गरी बंगला सर्वसाधारणका लागि खुला गर्ने काम अगाडि बढाएको थियो । यो बंगला खुला गरिएसँगै नेपालको इतिहास बारेमा अध्ययन गर्न चाहनेका लागि विशेष महत्व राख्ने विश्वास छ ।

यो मात्रै होइन देशका विभिन्न स्थानमा रहेका राज परिवारसँग सम्बन्धित विभिन्न दरबारहरु सर्वसाधारणका लागि खुला गराउने काम भइरहेको छ । त्यसै अन्तर्गत दियालो बंगला एउटा कार्यविधि बनाएर खुला गराइएको हो । भरतपुर महानगरपालिकाले बंगला सञ्चालनमा चासो देखाएपछि ट्रस्टले महानगरपालिकासँग २ वर्षका लागि सम्झौता गरेको हो ।

वि.सं. २०२६ सालमा राजा महेन्द्रले दियालो बंगला दरबार बनाएका थिए । उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो । त्यसपछि राजा वीरेन्द्र महेन्द्रको वार्षिक तिथि पारेर बंगलामा आउने गर्थे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए ।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update