कास्की । केहि दिन यताको निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर विशाल ताल बनेको छ । जसका कारण नदिसँगै जोडिएका सुकुम्बासी बस्ती बाढीले बगाउने जोखिममा रहेको छ । सेती नदीलाई लिएर पोखराको भौगोलिक बनावट अत्यन्त जोखिममा रहेको बारम्बार चर्चा गरिए पनि जोखिम न्यून गर्न भने कुनै निकायको ध्यान पुग्न सकेको छैन ।
झट्ट हेर्दा यो दृश्य कुनै तालको होला भन्ने लाग्न सक्छ, तर नझुक्किनुस् यो कुनै ताल भने होइन । केहीदिन यताको अविरल वर्षाको कारण सेती नदीमा पानीको बहाव निकै उच्च छ ।
हो, पोखरा रामघाटमा फराकिलो रहेको सेती नदीको निकास सानो हुँदा पानी जान नसकेर विशाल ताल नै बनेको छ । सेती नदी थुनिएर ताल बन्दा अहिलेसम्म क्षति त भएको छैन तर संभावित क्षतिको जोखिम भने निकै बढेको छ ।
दाह संस्कारका लागि बनाइएका घाटहरु पुरै जलमग्न छन् । सेती किनारसँगै दुई दर्जन बढी सुकुम्बासी बस्ती छ, बर्खा लागेपछि कतिबेला बाढीले बगाउने हो भनेर जाग्राम बस्नुपर्ने सुकुम्बासी बस्तिका बासिन्दालाई बाध्यता छ ।
सेती नदी पोखराको अधिकांस भागमा भूमिगत भएर बगेको छ । पोखराको बीच भाग अर्थात् रामघाटमा भने सेती सतहमा देखिन्छ । यस आसपासको क्षेत्र अत्यन्त जोखिममा रहेपनि सुकुम्बासीका नाममा बस्ती बस्ने क्रम भने रोकिएको छैन । जसले गर्दा जोखिम झनै बढ्दैछ ।
पोखराको रामघाट पोखरा महानगरपालिकाको प्रमुख आम्दानीको श्रोत मध्ये एक हो । जथाभावी उत्खनन् गरेर भएपनि वार्षिक ७ करोडमा ठेक्कामा दिँदै आएको छ महानगरपालिकाले । पोखराको भू–बनोट, सेती बाढीको जोखिम र मनपरी उत्खनन्ले पोखरालाई वर्षेनी जोखिम तर्फ धकेलेको जानकारहरूको बुझाई छ ।
पोखराको भू–बनोट, बेलाबेलामा भएका जमीन भासिने घटना र भूमिगत रूपमा बगेको सेती नदीका कारण पोखराको जोखिमबारे बेलाबेला चर्चा हुने गर्दछ, तर त्यो चर्चालाई दीर्घकालीन समाधानको बाटोतर्फ लैजान भने कुनै निकायले सकेका छैनन् ।