काठमाडाैँ । चितवनकाे नारायणी नदीको बाढीले भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उहाँले अनुरोध गरेका छन् ।
शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले स्थानान्तरण गरेको हो ।
उता मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा बाढीले नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल बगाएको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष थुक्तेनछिरिङ गुरुङले सिँचाइ आयोजनाको मुहानसहित करिब २० मिटर नहर बाढीले बगाएको बताए । काठको पुल बगाएपछि घमी र ढाकमरका बासिन्दा आवतजावत गर्न खोलामा जोखिम मोलेर जङ्घार तर्नुपर्ने अवस्था छ । ढाकमर गाउँमा ५७ परिवारको बसोबास छ । घमी वडाको केन्द्र हो ।
नहर बगाउँदा घमीको एक हजार दुई सय रोपनीभन्दा बढी जमिनमा सिँचाइको समस्या भएको छ । स्याउ, उवा, जाैँ र फापर बालीमा सिँचाइ गर्न समस्या भएको छ ।