News 24 Television
विदेशबाट फर्किएर स्वदेशमै उद्यम 

काठमाडौं । नेपालमा पछिल्लो केही बर्ष यता आफनै व्यावसाय सुरु गर्नेहरु लोभलाग्दो गरी बढ्दै गएका छन् । विदेशमा पढेको ज्ञान र सीप प्रयोग गरेर राम्रो आम्दानी गर्न थालेका छन् । 

व्यावसाय सुरु गर्नेहरुमा बिदेशबाट स्वेदश फर्किनेहरु बढी छन् । उनीहरु विज्ञान प्रविधिका क्षेत्रको अनुसन्धान गर्न अनुसन्धान केन्द्र स्थापना गर्नेदेखि नर्सरी व्यावसाय तथा कृषि पेशा सुरु गरेका छन् । 

रसायनशास्त्रमा पीचडी गर्न अमेरिका गएका बसन्त गिरी १० बर्षअघि नेपाल फर्किए । बसन्तलाई सुरुका दिनहरुमा काम पाउन निकै समस्या भएको थियो । काम गर्ने ठाउँ नपाउँदा सन् २०१४ मा ललितपुरको नख्खुमा काठमाडौ इन्स्टिच्युट अफ एप्लाई साईन्स नामक कम्पनी दर्ता गरे । तर अनुसन्धान गर्ने रकम जुटाउन सकेनन । 

पछि अन्तराष्ट्रिय संस्थाहरुमा प्रतिष्पर्धा गरी राम्रो रकम नेपाल भित्राउन सफल भए । ५ जना मिलेर खोलिएको केन्द्रले हाल बिभिन्न बिषयमा अनुसन्धान गर्न अन्तर्राष्ट्रिय क्षेत्रको बार्षिक १ करोड रकम नेपाल भित्राउँछन् । 

खानेपानीको गुणस्तरीय परीक्षण, तरकारीमा हुने किटाणु, प्याकेटको दुधको गुणस्तरीय परीक्षण, माटोको परीक्षण सम्ममा अनुसन्धान गर्छन् । अनुसन्धान रिपोर्ट अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्नेदेखि सरकारी निकायलाई समेत सुझाव दिने गर्छन् । 

जापानबाट फरेष्ट्री इकोलोजीमा पिचडी गरेर नेपाल फर्किएका रवि मोेहन तिवारी नेपालमा काम नपाएपछि चीन र यूरोपेरी देशका अनुसन्धान केन्द्रमा काम गर्न थालेका थिए । 

१ बर्षअघि पुनः नेपाल फर्किएका रवि काठमाडौ इन्स्टिच्युट अफ एप्लाई साइन्समा काम गर्न थालेका छन् । बिज्ञान र प्रविधिको क्षेत्रमा सरकारी सहयोगबिना नै उनीहरु अन्तर्राष्ट्रिय क्षेत्रको ठूलो रकम नेपाल भित्राउन सफल छन् । तर यस्ता अनुसन्धान केन्द्रलाई अन्तर्राष्ट्रिय संस्थाहरुले रकम दिन छाडे भने के गर्ने भन्ने चिन्ता भने कायमै छ । 

डेनमार्कबाट अन्तर्राष्ट्रिय बिजनेस बिषयमा स्नाकोत्तर गरेर नेपाल फर्किएकी उषा खड्काले नर्सरी व्यावसाय सञ्चालन गरिरहेकी छन् । ६ बर्षअघि नेपाल फर्किएकी उषालाई काम नपाएपछि सुरुका दिनमा निकै समस्या भएको थियो । नेचर फ्लाई नर्सरीबाट आफनो व्यावसाय सुरु गरेकी उनले सिजनको समयमा १ लाखसम्म नाफा कमाउँछिन् ।  

अध्ययन र रोजगारीको लागि नेपालबाट बाहिरिने संख्या बढे पनि बर्षौसम्म बिदेश बसेर नेपाल फर्किएपछि यहिँ केही गर्छु भन्ने पंक्तिहरु पनि प्रशस्त छन् । त्यसैले नेपालमा उद्यम गर्ने उद्देश्यले स्वदेश फर्किएका युवाहरुलाई नेपालमा काम गर्ने वातावरण सिर्जना गर्न सरकारले विभिन्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आवश्यक छ । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update