News 24 Television
ओली बोक्दै शेरबहादुर, ‘प्रचण्ड मुभ’ रोक्न बुढानीलकण्ठमा एमालेको बार

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि सात बुदे समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । काँग्रेस एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन पूरापूर तयार अवस्था छ । तर प्रचण्डले राजीनामा दिइनसकेको अवस्थामा काँग्रेससँग एमालेको केही मात्रामा भने शंका कायमै देखिन्छ । यद्यपि प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । यसले एमालेको शंका अवधिलाई भने छोट्याइदिएको छ । 

 प्रचण्डले विश्वासको मत लिने तयारी गरेकाले एमालेलाई केही राहत मिलेपनि त्रास भने घटाएको छैन । गत शनिबार पहिलो पटक ओली र देउवाबीच भेटवार्ता भएको खुल्यो । तर त्यसको दुई दिन नवित्दै देउवा–ओलीले रातारात संविधान संशोधनको विषयसहित राजनीतिक भागबण्डा मिलाए । र, भोलिपल्ट नै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्न थाले । तर ओलीमाथि संवैधानिक अफ्ठ्यारो निम्त्याउन प्रचण्ड सजिलै कुर्सी छाड्न तयार देखिएनन् । त्यही प्रयोजनका लागि प्रचण्ड विश्वासको मत लिने तयारीमा छन् । 

प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन एमालेले असार १९ गते नै फिर्ता लिइसकेको छ । यही समयबाट औपचारिक रुपमै अल्पमतमा परेको प्रचण्ड सरकार अहिले अल्पमतमा छ । शुक्रबार मात्रै अशोक राई नेतृत्वको जसपाले पनि समर्थन फिर्ता लियो । तरपनि सरकार नछोडेका प्रचण्ड काँग्रेस मनाउने झिनो आशामा छन् । तर यो आशा पनि साकार नहुने पक्का छ । यद्यपि प्रधानमन्त्री प्रचण्ड ओलीलाई सरकारको नेतृत्व सुम्पनुभन्दा देउवालाई दिन तयार छन् । 

नेपाली काँग्रेसले ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको सूचना पाए लगत्तै प्रचण्ड राष्ट्रपति निवास पुग्नुको अर्थ पनि यही हो । हाल प्रचण्ड संविधानको धारा ७६ उपधारा २ बमोजिम प्रधानमन्त्री छन् । तर यो धारा अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाए, यही धाराबाट अर्को प्रधानमन्त्री नियुक्त गर्ने की उपधारा ३ मा जाने भन्ने विषयमा कानूनी अन्योलता छ । जबकी उपधारा ३ मा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुनुपर्ने भनिएको छ । 

यदी यो अवस्था आफूले विश्वासको मत नपाउँदा देउवालाई प्रधानमन्त्री बनाउन सकिएलाकी भन्ने दाउमा प्रचण्ड छन् । यसका अलावा काँग्रेसलाई मनाउने, यदी नसके संसदबाटै काँग्रेस–एमालेलाई प्रष्ट जवाफ दिएर मात्रै बहिर्गमन हुने प्रचण्डको रणनीति छ ।  

प्रचण्डको प्रयास विफल 

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई घुँडा टेकाउने प्रयास नगरेका भने होइनन् । उनले संसदमा ा बहुमत जुटाउन भरपुर प्रयास गरिरहेका छन् । यही अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने प्रचण्डप्रति सकारात्मक छन् । 

उनीहरुको समर्थन प्रचण्डलाई कायमै छ । तर यसमा अशोक राई नेतृत्वको जसपा भने बाहिरिसकेको छ । यो अवस्थमा प्रचण्डलाई बहुमत पुग्ने स्थिति छैन । प्रचण्डको सत्ता जोगिन नेपाली काँग्रेसकै समर्थन आवश्यक छ । 

देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माओवादीले प्रयास पनि गरेको थियो । तर काँग्रेसले एमालेसँगको सहमतिबाट व्याक नहुने स्थितिमा पुगेको जवाफ दियो । यो कारण पनि प्रचण्डको प्रयास विफल भइसकेको छ । विश्वासको मत लिन करिब ६ दिन मात्रै बाँकी हुँदा प्रचण्डको जोर चल्ने स्थिति देखिँदैन । 

प्रचण्डको सम्भावित मुभप्रति एमाले चनाखो 

एमालेसँगको समझदारी परिपालना र प्रतिबद्धताप्रति काँग्रेसका सभापति शेरबहादुर देउवा दृढ छन् । समझदारी लगत्तैदेखि पार्टीको आन्तरिक बैठकमार्फत देउवाले ओलीलाई प्रधानमन्त्री बनाउने विषय पारित गरे । त्यसपछि ओलीसँग निरन्तर संसवादमा रहेका देउवा प्रचण्डसँग छलफल गर्ने कुनै इच्छा देखाइरहेका छैनन् । 

बरु ओलीकै पक्षमा माहोल बनाउन कस्सिएका देउवा अन्य साना दलहरुलाई पनि नयाँ सरकारमा ल्याउन मरिहत्ते गरिरहेका छन् । देउवाले प्रतिपक्षमा रहँदाका दलहरुलाई बोलाएर छलफल गरिसकेका छन् । थप छलपल गर्ने पनि उनको तयारी छ । सहकार्यका विषयमा देउवाले गरेका प्रस्तावमा सबै साना दलहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताइन्छ । 

यता देउवाले शनिबार नै संसदीय दलको बैठक बोलाएर १७ गते एमालेसँग भएको सहमतिबारे जानकारी गराउँदैछन् । उता नेकपा एमाले अध्यक्ष ओली पनि सहमति नभाँडियोस भन्ने उदेश्यले बुढानीलकण्ठ धाइरहेको छन् । तारान्तार सम्पर्कमै रहिरहेका देउवा ओलीबीच विहीबार मात्रै थप भागबण्डा मिलाउन भन्दै बुढानीलकण्ठमा छलफल भयो । 

त्यसअघि एमाले अध्यक्ष ओली काँग्रेस केन्द्रीय कार्यालय सानेपामै पुगेका थिए । देउवा ओलीबीच संविधान संशोधानसहित विभिन्न विषयमा ७ बुँदे सहमति भएको खुलेको छ । तर समहति भएको उक्त पत्र अझैसम्म सार्वजनिक भएको छैन । उक्त पत्रमा केही बुँदा थपघट हुनसक्ने नेताहरुको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update