News 24 Television
सत्ताबाट बाहिरिए ऋषि सुनक, स्टार्मर नयाँ प्रधानमन्त्री

काठमाडौं ।   बेलायतमा सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले फराकिलो जित निकाल्दै १४ वर्षपछि सत्तामा फर्किएको छ ।

अत्यधिक बहुमतसहित बिजयी लेबर पार्टीका लागि किअर स्टार्मर अब बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री तथा कन्जर्भेटिभ नेता ऋषि सुनकले पार्टीको पराजय स्वीकर गर्दै राजीनामा गरेका छन् । 

बेलायतमा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले अत्यधिक बहुमत पाएको छ । अब स्टार्मर यूकेको नयाँ प्रधानमन्त्री बन्ने छन् । कानुनी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका किअर स्टार्मर सन् २०१५ मा मात्रै यूकेको सांसद बनेका थिए ।  

लन्डनको ’होल्बर्न एन्ड सेन्ट प्यान्क्रस’ क्षेत्रबाट निर्वाचित भएपछि उनी सांसद बनेका थिए । लेबर पार्टीमा ’छाया गृहमन्त्री’को जिम्मेवारी पाएका स्टार्मरलाई सन् २०१९ मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेताको जिम्मेवारी दिइएको थियो ।

निर्वाचनमा लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री तथा कन्जर्भेटिभ नेता ऋषि सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका छन् । १४ वर्षदेखि बेलायतमा कन्जर्भेटिभ पार्टीको सरकार रहेको थियो । तर यसपटक लेबर पार्टीले ६५० मध्ये ४०० भन्दा बढी सीट जितेको छ । बेलायतको संसद्मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ ।

लेबर पार्टीको यो जितलाई दोस्रो विश्वयुद्धयताकै सबभन्दा बढि सिटको विजय मानिएको छ । यसपटकको निर्वाचनले हाउस अफ कमन्समा पुग्ने महिलाको संख्यामा पनि कीर्तिमान बनाएको छ । अहिलेसम्म २४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन् । सन् २०१९ को निर्वाचनमा २२० महिला सांसद थिए । संसदीय निर्वाचनमा करिव ६० प्रतिशत मात्रै मत खसेको थियो । हालसम्मको परिणामा अनुसार लेबर पार्टीले ३५ प्रतिशत, प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले २४ प्रतिशत र रिफर्म यूके पार्टीले १५ प्रतिशत मत पाएको छ । 

यसपटक कन्जर्भेटिभ पार्टीले पाएको मत हालसम्म भएका निर्वाचनहरुमध्येकै सबैभन्दा कम हो । बिहीवार भएको मतदानमा सर्वेक्षणहरूले स्टार्मरको लेबर पार्टीले फराकिलो जित हात पार्ने देखाएका थिए । बेलायतमा सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई राजाले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । नयाँ प्रधानमन्त्री नियुक्तिका लागि छिटै नै प्रधानमन्त्री सुनकले राजा चाल्र्ससमक्ष राजीनामा बुझाउने ठानिएको छ । 

त्यसपछि हुने राजा र किअर स्टार्मरबीच भेटघाटका क्रममा राजाले स्टार्मरलाई नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्ने छन् । बेलायतको संसद्मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्ने व्यवस्था छ । 

प्रधानमन्त्री सुनकको पार्टीका केही शीर्ष नेताहरुसमेत निर्वाचनमा पराजित भएका छन् । पूर्वप्रधानमन्त्री लिजा ट्रस र रक्षामन्त्री ग्रान्ट श्याप्स पनि लेबर पार्टीका उम्मेदवारसँग पराजित बनेका छन् । अर्थमन्त्री जेरमी हन्ट पनि आफ्नो निर्वाचन क्षेत्रबाट पराजित हुन सक्ने प्रारम्भिक मत सर्वेक्षणहरुबाट देखाएको छ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update