काठमाडौं । आम निर्वाचनको डेढ वर्षपछि सरकार परिवर्तनको तरखर भइरहेको छ । अहिलेसम्म संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । तर माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई बारम्बार प्रयोग मात्रै गरेर सत्ता जोगाइरहेकोे भन्दै देउवा–ओली मिल्ने अवस्थामा पुगेका छन् ।
दुई ठूला दलहरु नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाउने विषयमा मोटामोटी सहमति पनि भइसकेको छ । यही सोमबार राति १२ बजे संविधान शंसोधनसहित राजनीतिक भागबण्डा गरिसकेका काँग्रेस–एमाले प्रचण्डलाई कुर्सी खाली गरेर मार्गप्रशस्त गर्न आग्रह गरिरहेका छन् ।
उनीहरुले पार्टीको आन्तरिक बैठक बसालेर नयाँ समझदारीलाई पारितसमेत गरिसकेका छन् । तर प्रधानमन्त्री प्रचण्डले भने संविधान शंसोधन गर्ने विषयमा गरेको सहमतिप्रति आपत्ति जनाउँदै आइहेका छन् । नयाँ गठबन्धनप्रति रुष्ट रहेका प्रधानमन्त्री प्रचण्ड कामचलाउ अवस्थामा पुगिसकेपनि सजिलै सत्ता हस्तारणतको पक्षमा देखिँदैनन् ।
प्रचण्ड संविधानलाई किन चलाउने ? नयाँ गठबन्धनको औचित्य के ? भन्ने प्रश्नसहित ओली र देउवालाई संसदबाटै जवाफ दिएर विश्वासको मतको समना गर्ने रणनीतिमा छन् । राजीनमा दिन गएका सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई यही प्रयोजनका लागि केही समय पर्खनसमेत प्रचण्डले आग्रह गरे ।
भरसख उनले सबै राजनीति स्थितिबारे प्रष्ट पारेर आफ्नो पक्षमा मत पुर्याउने प्रयास पनि गर्नेछन् । उता नेकपा एमालेले भने यसअघि नै प्रचण्डलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । सरकार छाडेर प्रधानमन्त्रीलाई कुर्सी खाली गर्न तथा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न चेतावनी दिइरहेको एमाले अबको केही समयमै सरकारको नेतृत्व आउनेमा ढुक्क छ ।
त्यस्तै नेपाली काँग्रेस पनि सरकारमा जाने हतारोमै देखिन्छ । यद्यपि काँग्रेस नेकपा एमालेसँग सिद्धान्त र नीतिगत विचार मिलेर सरकारमा सामेल भएको भने होइन । खासगरी सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चरित्र र व्यवहारको कारण नयाँ गठबन्धन गर्नु परेको काँग्रेस र एमालेकै नेताहरुले बताइरहेका छन् ।
मुख्यतः एमालेले प्रचण्डको भारत भ्रमणपछि मुड परिवर्तन भएको र उल्टै आफ्नो साथ छोडेर काँग्रेससँग राष्ट्रिय सरकारको पहल थालेकोले नयाँ कदम चाल्न बाध्य भएको जिकिर गरिरहेको छ । त्यस्तै बजेट तथा अन्य सरकार संचालनको विषयमा पनि प्रचण्ड एकलैटी हिँडेको एमालेको आरोप छ । नयाँ सरकारको विषयमा नेपाली काँग्रेसले पनि प्रचण्डकै कारणले देश दुर्घटनामा पर्ने स्थिति देखिएपछि यो अवस्था सृजना भएको प्रष्टिकरण दिइरहेको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य हुने लगभग निश्चित जस्तै छ । संसदको बाँकी कार्यकालमध्ये आधा–आधा सरकारको नेतृत्व गर्ने काँग्रेस–एमालेबीच समझदारी भइसकेको छ । पहिलो चरणमा केपी ओली र बाँकी कार्यकाल शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
यो सहित संविधान संशोधन र अन्य थप राजनीतिक भागबण्डाका विषयमा पनि दुई दलहरुबीच समझदारी भइसकेको छ । तर संविधान संशोधनजस्तो गम्भीर विषयमा दुई दलहरुबीचको समझदारीले मात्रै पुग्नेवाला छैन ।
त्यस्तै राजनीतिक भागबण्डा र सरकारको नेतृत्वमा हस्तान्तरणका विषयमा पनि नेपाली काँग्रेस र एमालेबीच सहजै सम्भौता परिपालना हुनेमा शंका नै छ । यदी समझदारी अनुसारको संविधान संशोधान नभएको र सत्ता हस्तान्रणको सम्झौता परिपालना नभएको अवस्थामा काँग्रेस एमाले गठबन्धन पनि संकटमा पर्ने निश्चित छ ।
नेपालको परिपे्रक्ष्यमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले प्रतिस्पर्धी दलहरु हुन् । तर यी दुवै दल गठबन्धन गरेर सत्तामा जानुलाई एक कोणबाट सकारात्मक देखिएपनि अन्य धेरै पक्षबाट घातक हुने राजनीतिक विश्लेषकहरु बताउँछन् । विगतमा देखिएका राजनीतिक चरित्र र व्यवहारका कारण पनि केपी ओलीमाथि काँग्रेसको शंका कायमै छ ।
यही बन्न लागेको गठबन्धनप्रति पनि नेपाली काँग्रेसका कतिपय नेताहरुले शंका व्यक्त गरिरहेका छन् । काँग्रेस–एमाले मिलेर बन्न लागेको सरकारको स्थायित्वप्रति जनता र कार्यकर्ता स्तरमासमेत संशय पैदा भइरहेको छ ।
यही अवस्थामा महामन्त्री थापाले ओलीलाई काँग्रेस संसदको ठूलो दल भएको हेक्का नराखे स्थिति फरक हुने भन्दै दिएको चेतावनीले पनि थप शंका पैदा गरेको हो । यसअर्थमा काँग्रेसले एमालेलाई सम्झौता गर्दा ग्रीन सहित रेड सिग्नलको संकेत गरेको देखिन्छ ।