News 24 Television
बर्खा लाग्नेबित्तिकै पोखरामा टुसा खोज्नेको ताँती 

पोखरा । वर्षायामको सुरुवातसँगै पोखराका बजारहरुमा सामान्य समयमा पाक्ने तरकारीभन्दा फरक स्वादको तरकारी पाक्ने गर्छ । माछापुच्छ्रे्र र अन्नपुर्ण हिमालको फेदमा पाइने त्यो तरकारीको नाम हो, टुसा । पछिल्ला वर्षहरुमा टुसाको तरकारीको माग उच्च छ । टुसालाई पोखराको मौसमी तरकारीको रुपमा समेत ब्राण्डिङ गर्न थालिएको छ ।

असार महिना लागेपछि पोखराको मुख्य चोकहरुमा टुसा खोज्नेहरुको भीड देखिन्छ । हेर्दा सानो लठ्ठीको मुठा जस्तो देखिने यो माछापुच्छ्रे र अन्नपुर्ण हिमालको फेदमा पाइने मालिंगे जातको निगालोको भर्खरै पलाएको टुसा हो । यो टुसा कास्कीको ल्वांघलेल, सार्दीखोला र माछापुछ्रेमा पाइन्छ । समुन्द्री सतहबाट २५०० देखि ३५०० मिटर उचाइमा पाइने टुसा पछिल्लो समय बर्षायामको पहिलो रोजाइको तरकारी हो । नेपालका अन्य भूभागमा यस्तो टुसा बिरलै पाइने भएकाले पनि यसको माग बढ्दैछ । 

निगालोको यो टुसा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण  क्षेत्र आयोजना (एक्याप) भित्र पाइन्छ । खास गरि यो जंगली जनावर दुर्लव रेडपाण्डा, कालोभालु, मृग लगाएतको प्रमुख आहार मानिन्छ । केहि वर्षअघिसम्म बजारमा टुसा अवैधरुपमा बिक्रि वितरण भैरहेको थियो । टुसाको तस्करी नरोकिए पछि हाल आएर टुसा पाइने सिजनमा टेन्डरनै खोलेर १ महिना टुसा टिप्न दिनथालिएको छ । हरेक वर्ष माछापुछ्रे गाउँपालिका २ सार्दीखोला, वडा नम्बर १ माछापुछ्रे  र वडानम्बर ८,९ ल्वाङ्घलेल गरि तिन ठाउमा तीनजना ठेकेदारलाइ उत्पादनको ६०% टुसा टिप्न एक्यापले अनुमति दिन्छ ।  टुसा ब्यापारलाइ बैधानिकता दियपछि यसको माग बढेको छ ।

अहिले पोखरामा टुसा प्रति मुठा १००  देखि १५०  रुपैयामा बिक्रि भैरहेको छ । टुसाको व्यापार र माग फस्टाएको छ अनि सरकारले  केहि राजस्व संकलन पनि गरेकै छ । तर दुर्लव रेडपान्ड लगायत अन्य जंगली जनावरको प्रमुख आहार यसरी ब्यापार हुँदा त्यसले पार्ने प्रभाव बारे प्रश्न उठ्नथालेको छ ।  

टुसातर्फको यो आकर्षणलाई पूर्तिका लागि सरकारले यसलाई बालीका रुपमा विकासको व्यवस्था गर्नु पर्ने आवाज समेत उठ्न थालेका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update