News 24 Television
‘म्याजिक’को भ्रममा पर्दा चिप्लिएका प्रचण्ड, ओलीको बाघचाल सामु निरीह

काठमाडौँ । दुईपटक प्रधानमन्त्री खाइसकेका, नेकपालाई मुठीमा घुमाएर पछारेका र राजनीतिमा बाघचाल खेल्न माहिर एमाले अध्यक्ष केपी ओलीले जब गठबन्धन सरकारमा महत्वपूर्ण हिस्सा नै खोजेनन्, त्यहीबाट उनको चाल धेरैले अड्कल गरिसकेका थिए । राजनीतिक विश्लेषकका कुरा छाडौँ, आम सचेत युवाले समेत प्रचण्ड नेतृत्वको सरकार अब तीन महिनाभन्दा बढी नटिक्ने अड्कल त्यहीबेला गरिसकेका थिए । तर सत्ताको नेतृत्वकर्ता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको चालै बुझ्न सकेनन् । नत्र ता अस्ति भर्खरसम्म उनले आफूसँग म्याजिक नम्बर (जादुको नम्बर) रहेको र पूरै कार्यकाल आफूले सरकार चलाउने भन्दै माओवादी कार्यकर्तालाई आस्वासन बाँडेर किन बस्थे ? प्रचण्ड यही म्याजिकको मीठो भ्रममा पर्दा चिप्लएको पत्तै पाएनन् । 

खासमा ओलीले प्रचण्डलाई हातमा लिए, केहीबेरका लागि हावामा बुरुक्क उफारेर हिलोमा पछारिदिएका छन् । काँग्रेससँगको हुँदाखाँदाको गठबन्धन तोडेर ओलीको पञ्जामा पर्नु नै प्रचण्डको दुर्भाग्य थियो । यदि काँग्रेससँगको गठबन्धन नतोडेका भए न त काँग्रेस अहिले एमालेसँग मिल्न जाने थियो, न त प्रचण्डले यति छिटै प्रधानमन्त्रीबाट हात धुनुपर्ने थियो । कम्तीमा अझै एक–डेढ वर्ष उनलाई काँग्रेसको समर्थन कायमै रहने थियो, पूर्व–सम्झौता बमोजिम । जसरी पनि काँग्रेस–एमाले गठबन्धन तोड्न लागिपरेका ओलीले एकाएक प्रचण्डलाई चिप्लो घसेर आफ्नो हातमा ल्याउन सफल भए । उता काँग्रेस रन्थनियो र जसरी पनि प्रचण्डलाई प्रधानमन्त्रीबाट गिराउन लागिप¥यो । अनेक गरेर पनि नसकेको काँग्रेसलाई पनि अन्ततः ओलीले नै हात लिए र आफू प्रधानमन्त्री बन्ने सर्तमा काँग्रेससँग सत्ता–सम्झौता गर्न सफल भए । भन्नलाई संविधान संशोधनको मिलनबिन्दु भेटिएर यी दुई दल मिलेको भनिए पनि अन्तर्यमा भने सत्ता नै हो । एमाले–काँग्रेसको यो गठबन्धन पनि कतिन्जेल टिक्छ भन्न सकिँदैन । 

सत्ता र साख दुवै गुमाएको माओवादीले एमाले–काँग्रेस मिलनलाई पश्चगमन देख्न थालेको छ । मंगलबार बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले काँग्रेस–एमाले मिल्नु पश्चगमनको संकेत रहेको निष्कर्ष निकालेको थियो । संविधान संशोधनका कुृरा झिकेर २०४७ सालको संविधान ब्युँत्याउने षडयन्त्र, भ्रष्टाचारका फाइल खोलेपछि कांग्रेस–एमालेमा त्रास देखिएको र परिवर्तनका उपलब्धि उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको माओवादीको निष्कर्ष छ । यसको सशक्त प्रतिवाद गर्ने समेत प्रचण्डले बताएका छन् । माओवादी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पनि काँग्रेस—एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको  र यसले मुलुकलाई पश्चगमनतिर लैजाने बताए । 

पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको सामना गरेर पाचौँपटक विश्वासको मत लिने धारणा राखेका थिए । पार्टी नेताहरुले पनि त्यसै गलेर सरकार छोड्ने भन्दा लोकतान्त्रिक प्रक्रियाअनुसार नै संसदमा विश्वासको मत लिएर अघि बढ्न सुझाव दिए । बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यससँगै बिहीबार रास्वपाका मन्त्रीहरुले राजीनामा दिन जाँदा प्रधानमन्त्री प्रचण्डले आफू संसदलाई फेस गर्ने र त्यतिन्जेल साथ दिन अनुरोध गरेपछि रास्वपाले प्रचण्डलाई कुर्ने देखिन्छ । करिब दुईतिहाइको बहुमत प्रचण्ड सरकारका विरुद्धमा स्पष्ट रुपले खडा भइसकेको अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना छैन, तैपनि संवैधानिक सुविधालाई उपयोग गर्ने प्रचण्डको मनस्थिति देखिन्छ । यसैकारण रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गरेको देखिन्छ । तर रास्वपाले छिटै विश्वासको मत लिन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

चौथोपटक विश्वासको मत लिँदासम्म प्रधानमन्त्री प्रचण्डले आरामले नै विश्वासको मत पाएका थिए । तर पाचौँपटक भने उनले सबैको विश्वास गुमाइसकेका छन् । तर पनि राजीनामा दिएर सरकारबाट बाहिरिनुको सट्टा विश्वासको मत पाई पो हाल्छु कि भन्ने झिनो भ्रम प्रचण्डलाई भएको हुनसक्छ । संविधानतः उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । यसबीचमा काँग्रेसलाई ठूलो दलको हैसियतामा प्रधानमन्त्री दिएर भए पनि एमाले–काँग्रेसबीचको सहमति भाँड्न सकिने छिद्र समेत बाँकी छ र प्रचण्डमा पनि झिनो आशा बाँकी देखिन्छ । तर जब उनको चेत खुल्यो, समय धेरै ढिला भइसकेको छ । दुई ठूला दलको विश्वास र साथ गुमाइसकेपछि अब प्रचण्ड र माओवादीको भविष्य के हुने भन्ने अन्यौल समेत थपिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update