News 24 Television
प्रचण्डका सक्किए राजनीतिक स्पेश, सत्ता–सत्ता भन्दा भन्दै पुगे भित्ता !

काठमाडौं । ‘प्रचण्ड’ शब्दको अर्थ तेजिलो वा तिख्खर हो । नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कोे कुनै समय यही नाम राजनीतिमा तेजिलो थियो । ५२ सालबाट सुरु भएको १० वर्षे जनयुद्धका बखत जनमुक्ति सेना नेपालको सर्वोच्च कमाण्डर थिए, प्रचण्ड । 

भुमिगत हुँदा ‘प्रचण्ड’ एक काल्पनिक पात्र मात्रै हुन् की ? भन्नेसमेत आशंका पनि थयो । तर उनी त्यही प्रचण्ड नामबाट २०६३ साल असार २ गते बालुवाटारमा सार्वजनिक भए । अनि पुष्टि भयो उनी काल्पनिक होइनन् वास्तविक पात्र नै हुन भनेर । 

खुला राजनीतिमा आएपछि २०६४ मा भएको निर्वाचनमा नेकपा माओवादी पहिलो दल बन्यो । यसपछि सरकारको नेतृत्व गरेका प्रचण्ड गणतन्त्र नेपालकै पहिलो प्रधानमन्त्री बने । तर तत्कालीन सेनापति रुक्मांगत कटुवाललाई चलाएपछि प्रचण्डले नैतिकताको आधारमा राजनीनामा दिँदै नौ महिनामै सत्ताविमुख हुन पर्योे । 

त्यसयताका निर्वाचनहरुमा प्रचण्ड नेतृत्वको माओवादी सँधै तेस्रो दलमा खुम्चिँदै आयो । तथापी प्रचण्डले तेस्रो दल हुनुको फाइदा लिँदै सँधै सत्ताको वरिपरी रहिरहे । यही अवसरमा बेला बखत कहिले काँग्रेस र कहिले एमालेको साथमा रहँदै आए । 

यस्तै मौकालाई सदुपयोग गर्दै आएका प्रचण्ड राजनीतिको चतुर खेलाडीको रुपमा परिचित हुँदै आए । कतिपय समयमा अर्कै दलका नेताहरुले पनि नामको अर्थजस्तै ‘तेजिला’ नेताको रुपमा व्याख्या गरेर ‘प्रचण्ड’लाई सार्थक पार्न खोजिन्थ्यो । 

प्रचण्डले यो साखलाई २०७९ सालको आमनिर्वाचनपछिको कालसम्म यसरी जोगाएकी, आफू कमजोर जनमतसहित तेस्रो दल बनेर पनि प्रधानमन्त्री बन्न सके । यो अवस्थासम्म पनि काँग्रेस र एमालेलाई पालोे–पालो प्रयोग गरेर प्रधानमन्त्री पद बाचाएर राजनीतिमा जादु नै गरे । 

एकाएक एकको साथ टुटेर अर्कोतर्फ गठबन्धन बनाउँन सफल हुँदा आफ्नो जीवनभर उथलपुथल गर्ने चेतावनीसमेत दिँदै आए ।

तर अहिले काँग्रेस–एमालेले नै गठबन्धन गरेपछि प्रचण्ड तेजविहीन छन् । संसदमा जम्मा ३२ सिट रहेर दायाँबायाँ गर्दै पद जोगाइरहने प्रचण्ड अहिले अल्पमतमा परिसकेका छन् । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझ आफूलाई समर्थन गर्न आग्रहसहित समर्थन फिर्ता लिनुको कारण खुलाएर एक पत्र पठाए । त्यसपछि एमालेकै मन्त्रीहरुले पनि राजीनमा दिइसकेका छन् । 

त्यस्तै सत्ता साझेदार दल अर्थात संसदको चौँथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि राजीनामा दिने तयारी गरिरहेको छ । यो अवस्थामा प्रचण्डसामु नैतिकताको आधारमा तत्काल राजीनामा दिनु र संविधान प्रदत्त ३० दिनभित्र विश्वासको मत छ भनी संसदको फेस गर्नुको विकल्प छैन । 

चारैतिरबाट विकल्पविहीन बनेका प्रचण्ड अहिले आँफैले असार ८ गते सम्बोधन गर्दाका तर्कको विपरित परिस्थितिमा छन् ।  प्रचण्डले ऊबेला आफूहरु जादुयी नम्बरका साथ संसदमा रहेको र विभिन्न मुद्धा र इतिहासका कारण सरकारबाट कसैले हटाउन नसक्ने दावी गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले यही संसदबाट हालसम्म ४ पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक झण्डै शतप्रतिशत मत प्राप्त गरेका उनले चौथो पटक विश्वासको मत लिँदा जम्मा ५७ प्रतिशत सांसदको मात्रै समर्थन रह्यो । यदी अब पाँचौँ पटक विश्वासको मत लिँदैछन् भने प्रचण्ड हदै अल्पमतकासाथ प्रधानमन्त्री पदबाट बहिर्गमन हुन पर्नेछ । 

दुई ठूला दलहरुले तत्काल राजीनमा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिरँदा पनि उनले संसदको सामना गर्ने बताइरहेका छन् । 

यो समय काँग्रेसलाई आफ्नो पक्षमा तान्न खेल खेल्ने भनेर पनि चर्चा भइरहेका छन् । तर राजनीतिक परिस्थिति हेर्दा अब उनको ३२ नम्बरको जादुले कुनै काम गर्ने छैन । काँग्रेस–एमालेले संविधान संशोधान, आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्नेदेखि मन्त्रालय भागबण्डा र प्रदेशको नेतृत्वबारे पनि समझदारी गरिसकेका छन् । 

यो समझदारीलाई दुवै दलको  आन्तरिक बैठकले पारितसमेत गरिसकेको छ । यो अवस्थामा वर्तमान गठबन्धनमार्फत नै एमालेलाई सत्ता हस्तान्तरण गर्ने तथा काँग्रेसलाई आफ्नो कित्तामा ल्याएर देउवालार्ई प्रधानमन्त्री दिन सकिने माओवादीको विकल्प पनि समाप्त भइसकेको छ । 

निरन्तर खस्किँदो जनमत र पटक पटक सरकारमै रहेर पनि जनताको मन जित्न असक्षम प्रचण्डको अब रणनीतिक चाल चाल्ने स्पेश पनि खुम्चिएका छन् ।

जनयुद्धका बखत सर्वोच्च कमाण्डर हुँदै तेस्रो पटक प्रधानमन्त्री बनेर अहिलेको अवस्थामा सरकार छाड्दा प्रचण्डसँग न जादुयी नम्बर छ या उनमा नामजस्तै ‘तेज’ छ । बरु अब उनी नेतृत्वको माओवादी केन्द्र विपक्षमा धकेलिँदा इतिहसकै कमजोर प्रतिपक्षी बन्ने लगभग निश्चित छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update