News 24 Television
प्रदेशमा अब कहाँ कस्तो सरकार ? यस्तो छ अंकगणित

काठमाडौँ । केन्द्रमा सत्ता समिकरण फेरिने भएपछि प्रदेश सरकारको नेतृत्व पनि परिवर्तन हुने भएको छ । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारमा नेतृत्व गुमाउने निश्चित भएको छ भने पहिलो पटक प्रतिपक्षको बेच्नमा पनि पुग्दैछ । बागमती प्रदेशमा पनि माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा एकीकृत समाजवादी रहने छैन । 

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकार गठनसँगै सातै प्रदेश सरकारमा पनि सोहीअनुसार सत्ता समीकरण फेरिने छ । चार महिनाअघि मात्र माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा बनेका प्रदेश सरकार पनि अब नयाँ सरकार गठनको प्रक्रिया अनुसार अघि बढ्नेछन् । सहमति अनुसार केशी, लुम्बिनी र कर्णाली प्रदेशमा एमालेको सरकार बन्नेछ भने बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नेछ । मधेश प्रदेशमा भने कांग्रेस र एमालेले सरकार बनाउन माओवादी वा मधेशकेन्द्रित कुनै दलको साथ लिनुपर्नेछ ।

यस्तो छ प्रदेशको अंकगणित :

कोशी प्रदेश
प्रदेशसभा सदस्य संख्याः ९३
एमाले सदस्य संख्याः ४०
काँग्रेस सदस्य संख्याः २९
एमाले–काँग्रेस जोड्दाः ६९
सरकार बनाउन आवश्यक संख्याः ४७

मधेश प्रदेश
प्रदेशसभा सदस्य संख्याः १०७
एमाले सदस्य संख्याः २५
काँग्रेस सदस्य संख्याः २२
एमाले–काँग्रेस जोड्दाः ४७
सरकार बनाउन आवश्यक संख्याः ५४

बागमती प्रदेश
प्रदेशसभा सदस्य संख्याः ११०
एमाले सदस्य संख्याः २७
काँग्रेस सदस्य संख्याः ३७
एमाले–काँग्रेस जोड्दाः ६४
सरकार बनाउन आवश्यक संख्याः ५६

गण्डकी प्रदेश
प्रदेशसभा सदस्य संख्याः ६०
एमाले सदस्य संख्याः २२
काँग्रेस सदस्य संख्याः २७
एमाले–काँग्रेस जोड्दाः ४९
सरकार बनाउन आवश्यक संख्याः ३१

लुम्बिनी प्रदेश
प्रदेशसभा सदस्य संख्याः ८७
एमाले सदस्य संख्याः २९
काँग्रेस सदस्य संख्याः २७
एमाले–काँग्रेस जोड्दाः ५६
सरकार बनाउन आवश्यक संख्याः ४४

कर्णाली प्रदेश
प्रदेशसभा सदस्य संख्याः ४०
एमाले सदस्य संख्याः ९
काँग्रेस सदस्य संख्याः १४
एमाले–काँग्रेस जोड्दाः २३
सरकार बनाउन आवश्यक संख्याः २१

सुदुरपश्चिम प्रदेश
प्रदेशसभा सदस्य संख्याः ५३
एमाले सदस्य संख्याः १०
काँग्रेस सदस्य संख्याः १९
एमाले–काँग्रेस जोड्दाः २९
सरकार बनाउन आवश्यक संख्याः २७

कांग्रेस र एमालेका बीचमा सत्ता समिकरण बनेसँगै माओवादी केन्द्रले बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गुमाउने भएको छ । समिकरण अनुसार सरकार बन्ने प्रक्रिया सुरु भएपछि हाल मुख्यमन्त्री रहेका माओवादी केन्द्रका शालिकराम जम्कट्टेल सत्ता बाहिर हुनेछन् । 

त्यस्तै माओवादी केन्द्रका जोखबहादुर महरा नेतृत्वको लुम्बिनी प्रदेश सरकार पनि ढल्नेछ । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा एकीकृत समाजवादी रहने छैन । मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सरकारबाट बाहिरिनु पर्नेछ । हाल कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ भने गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेसका सुरेन्द्रराज पाण्डेले गरिरहेका छन् । कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेल नेतृत्वको सरकार छ ।

राजनीतिक अस्थिरता बढेकाले संसदका दुई प्रमुख ठूला दल एकै ठाउँमा उभिएको एमालेको तर्क छ । प्रदेशमा देखा परेको भद्रगोल पनि त्यसैको परिणाम भएको भन्दै एमाले काँग्रेसले प्रदेशको अवस्थाले संघीयतामाथि प्रश्न उठ्नु र त्यसले संविधानलाई नै खतरामा पार्ने अवस्था आउनुको रुपमा विश्लेषण गरेका छन् ।

आम नागरिकले प्रदेश सरकार बोझिलो, औचित्य नभएको र भविष्य खतरापूर्ण रहेको भनेर प्रश्न उठाइरहेको बेला दुई प्रमुख ठूला दलको सहकार्यमा प्रदेश सरकारले आफ्नो भूमिका प्रमाणित गर्ला ? यो चासोको विषय हो । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update