News 24 Television
नेपालमा चट्याङको डरलाग्दो तथ्यांक, कुन वर्ष कति क्षति ? 

काठमाडौँ । मनसुन सुरुभएसंगै विभिन्न खालका विपद्का घटनाले हरेक वर्ष धनजनको क्षति हुने गर्दछ । मनसुनका समयमा बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका साथै चट्याङका कारण पनि धेरैले ज्यान गुमाउने गरेका छन् । नेपालमा चट्याङकै कारण वर्षेनी करिब सय जनाले ज्यान गुमाउने गरेका छन् । साथै ३ सय बढि घाइते हुने गरेको तथ्यांकले देखाउँछ । 

वायुमण्डलमा जब विद्युतीय चार्जको असन्तुलन हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा विद्युतीय चार्जको प्रवाह हुन्छ त्यसलाई चट्याङ परेको भन्ने गरिन्छ । यो एक प्रकारको विद्युतीय करेन्ट हो । यो हावामा नै बग्ने गर्छ ।  सामान्यतया चट्याङमा १ करोड भोल्टदेखि १ अर्ब भोल्टसम्म विद्युत् प्रवाह हुने बताइन्छ । 

नेपालमा चट्याङबाट दक्षिणपूर्वी क्षेत्र धेरै प्रभावित हुने गरेको छ । नेपालबाहेक भुटान, त्रिपुरा, बंगालको खाडीलगायतका क्षेत्रमा चट्याङ धेरै पर्ने गरेको पाइन्छ । मौसमी चक्रअनुसार चट्याङको सिजन अंग्रेजी महिनाको मार्चबाट सुरु भएर अगस्टमा सकिने गर्दछ । अहिले विश्वमा नै प्राकृतिक विपत्ति भूकम्पपछि चट्याङ दोस्रो ठूलो मृत्युको कारण समेत देखिएको छ ।
 
चट्याङबाट मृत्युको कारण र मृत्युको सम्भावना 

–    चट्याङ जमिनको सतहमा विद्युत प्रवाह हुँदा मृत्युदर बढ्ने हुन्छ ।
–    ४० प्रतिशत मृत्युको कारण जमिनको सतहबाट बगेर जाने क्रममा हुने गर्छ ।
–    सोझै चट्याङ लागेर मृत्यु हुने दर ५ प्रतिशत मात्र रहेको छ ।

नेपालमा चट्याङबाट हुने मृत्युको अवस्था कस्तो ? 

नेपालमा २०६८ साल देखि यता चट्याङका कारण मृत्यु हुनेको संख्या बढि भएको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार २०६८ मा १ सय ३ को चट्याङ लागेर मृत्यु भएको देखिन्छ ।

–    आर्थिक वर्ष २०७५/०७६ सालमा ७३ जना 
–    आर्थिक वर्ष २०७६/०७७ मा ९१ जना
–    आर्थिक वर्ष २०७७/०७८ मा ६० जना 
–    आर्थिक वर्ष २०७८/०७९ मा ७२ जना
–    आर्थिक वर्ष २०७९/०८० मा ५८ जनाको मृत्यु ।

गृह मन्त्रालयको विपद् जोखिम न्यूनीकरण महाशाखाको तथ्यांक अनुसार नेपालमा प्रति १० लाख मानिसमध्ये चार जनाको चट्याङका कारण मृत्यु हुने गरेको छ । नेपालमा चट्याङ लागेर मानिस मात्र नभएर सयौँ बस्तुभाउको समेत ज्यान जाने गरेको छ । साथै चट्याङका कारण विद्युतिय सामग्री सट भएर घरमा आग्लागी हुदाँ भौतिक क्षति समेत हुने गरेको पाइन्छ । चट्याङका दृष्टिकोणले नेपाल संसारको चौथो उच्च जोखिमयुक्त मुलुक मानिएको छ । 

चट्याङबाट बच्नका लागि विद्युति सामाग्रीको प्रयोग नगर्नेदेखि रुख, विद्युतका पोल नजिक नबस्ने लगायतका उपाय अनपाउनुपर्नेमा विज्ञले जोड दिदै आएका छन् । 


 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update