News 24 Television
रास्वपा केन्द्रिय समिति बैठकमा महामन्त्रीको सांकेतिक विरोध

काठमाडौँ । केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले विरोध जनाएका छन् ।

बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाएका हुन् । उनले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध जनाएका हुन् । 

लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रशारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरेको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाउनुभएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । 

प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अँगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने कुरालाई उठाइएको छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update