ओखलढुंगा । राजा त्रिभुवनले उद्घाटन गरेर विसं २००९ साल असार ५ गते स्थापना भएको नेपाल स्काउटलाई गणतन्त्र फापेन भन्दा त्यसको गलत अर्थ लाग्न सक्छ । तर, गणतन्त्र स्थापनापछि नेपाल स्काउटले जुनरुपमा आफ्नो गति लिनुपर्ने थियो, त्यो हुन सकेन ।
स्काउट भनेको आत्मानुशासन सिकाउने अतिरिक्त क्रियाकलाप मात्र होइन, सम्वृद्ध मुलुक निर्माणमा आवश्यक योग्यतम र चरित्रवान नागरिक उत्पादन गर्ने शैक्षिक अभियान पनि हो ।
एकपटक फेरि स्काउट अभियानलाई गणतन्त्र नेपालको पहरेदार बनाउन प्रण गर्नुपर्ने बोध नेपाल स्काउटले गरेको छ । ‘एक घर, एक स्काउट’को अभियान अन्तर्गत हरेक पालिकामा आधारभुत तालिम सम्पन्न गर्ने अभियान नेपाल स्काउटले संचालन गरिरहेको छ ।
जस अनुरुप नेपाल स्काउटको इतिहासमा नै ओखलढुंगामा पहिलो पटक स्काउट तालिम सम्पन्न भएको छ । हेरौं यो रिपोर्ट ।
१ लाख सदस्य संख्या रहेको नेपाल स्काउटले २०२६ सम्ममा ७ लाख पुर्याउने लक्ष लिएको छ । जसका लागि स्काउट अभियानलाई गाउँगाउँका घरघरमा पुर्याउने उद्देश्य नेपाल स्काटले राखेको छ । यसैबीच ओखलढुंगामा पहिलो पटक स्काउट बिटिसि र स्काउट पिटिसि तालिम सम्मपन्न भएको छ ।
जिल्लाको लिखु गाउँपालिकामा संचालित ५७३ औं बिटिसि ४२६ औं पिटिसि तालिमको एक समारोहका बिच असार १६ गते समापन भएको हो ।
तालिम समापन कार्यक्रममा दिक्षित नव स्काउट लिडरहरु लिखुमा ऐतिहासिक स्काउटको तालिममा सहभागी हुन पाएको भन्दै खुशी देखिन्थे । अभियान अन्तर्गत भएको तालिम पश्चात् आफुले सिकेका कुरा आफ्नो विद्यालयमा लागू गर्न प्रतिवद्धता प्रकट गरे ।
सामाजिक रुपमा परिवर्तन गर्न नेतृत्वदायी भुमिका स्काउटले गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका महत्वपूर्ण हुने धारणा उनिहरुको थियो ।
स्थानीय वा विद्यालय स्तरमा स्काउट विकासका लागि नीतिगत तथा प्राविधिक सहयोग चाहिए नेपाल स्काउट हरदम तयार रहेको भन्दै ७० वर्षको इतिहासमा नेपाल स्काउट ओखलढुंगामा तालिम लिएर स्थानीय तहमा पुगेकोले अब क्रमशः बिस्तार हुनेमा आशा नेपाल स्काउटका केन्द्रिय पदाधिकारीहरुले व्यक्त गरे ।
तालिम समापनको अवसरमा दिक्षित भएका स्थानीय स्काउट प्रमुख तथा लिखु गाउँपालिका कि उपाध्यक्ष अस्मिता थापाले स्काउटको माध्यमबाट लिखुमा सकारात्मक सोचको विकास हुने अपेक्षा सहित आफू दिक्षित भएपछि आफ्नो जीवनमा ठूलो जिम्मेवारी थपिएको महशुस गर्दै ६ दिनसम्म सिकेका स्काउट तालिमलाई आफ्नो विद्यालय र समाजमा लागुहुने विश्वास व्यक्त गरिन ।
उनले समाजमा आइपर्ने आपत विपदलाई सहयोग पुर्याउन स्काउट अत्यन्त आवश्यक रहेको औल्याउँदै एक विद्यालय एक युनिट, एक परिवार एक स्काउट सदस्य निर्माण गर्न तालिमले टेवा दिने बताइन ।
तालिममा लिखु गाउँपालिकाका १३ वटा सामुदायिक विद्यालयका शिक्षकहरु गरी ३६ जनाको सहभागिता रहेको थियो ।
सहभागी मध्ये महिला र पुरुषको संख्या आधा–आधा रहेको थियो । गणतन्त्र स्थापनाअघिसम्म नेपाल स्काउटको प्रमुख संरक्षक राजारानी र संरक्षक युवराज हुने गर्थे । लोकतान्त्रिक आन्दोलनको सफलता लगत्तै गणतन्त्र स्थापना नहुँदै तत्कालीन गिरिजाप्रसाद कोइराला पहिलोपटक संरक्षक भएर स्काउट राजदरबारबाट जनताको तहमा आएको हो ।
विगतमा राजारानी र युवराजलाई हेर्नका लागि पनि स्काउट अभियानका अभियन्ताहरु गाउँ गाउँबाट आफ्नै खर्चमा काठमाडौंमा आउँथे । अहिले स्काउट अभियान तीब्ररुपमा अघि बढे पनि अपेक्षित हुन नसकेको तर्फ सबैको ध्यान जानु आवश्यक छ ।
एक किसिमले भन्ने हो भने गणतन्त्रमा स्काउट अभियान बेवारिसे बन्ने हो कि भन्ने चिन्ता छाएको छ ।