पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकामा ट्राफिक प्रहरीले आतंक मच्चाएको गुनासो बढेको छ । ड्युटी भन्दा पनि असुली धन्दामा ट्राफिक प्रहरीको ध्यान बढेको आरोप लगाउँदै स्थानीयले यसै कारण महानगर थप अस्तव्यस्त बनेको गुनासो गरेका छन् ।
मधेश प्रदेशको एकमात्र महानगर हो, ‘वीरगञ्ज महानरपालिका’ । जिल्ला प्रहरी, जिल्ला प्रशासनदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय यही नगरमा छन् । तर, वीरगंज बजारमा ट्राफिक प्रहरीको उपस्थिति निकै न्यून देखिन्छ ।
बजारमा छिटफुट रुपमा एक दुई स्थानमा ट्राफिक प्रहरी खटिएपनि इमान्दारितापूर्वक ड्युटी नगरेको कारण वीरगंज बजारको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बन्दै गएको आरोप वीरगञ्जवासीको छ ।
वीरगंज महानगरपालिकाको घण्टाघर चोक, माइस्थान चोक, आदर्शनगर चोक, अलखियामठ चोक लगायत अति व्यस्त स्थानहरुमा ट्राफिक प्रहरीहरु खटाइएको छ तर यहाँ रहेका विटमा कुनैपनि बेला ट्राफिक प्रहरी देखिदैन । जसका कारण स्थानीयलाई हैरानी खेप्नु परेको छ ।
तराईमा चर्को गर्मीले ड्युटी गर्न समस्या हुने बताउने ट्राफिक प्रहरीको सक्रियता रकम असुली हुने ठाउँमा बढि देखिन्छ ।
ट्राफिक प्रहरीले महानगरको ट्राफिक व्यवस्थापन गर्नुभन्दा पनि छड्के चेकजाँच एवं यातायात कार्यालयको ट्रायल सेन्टरमा बढि सक्रियता रहेको स्थानीयको आरोप छ ।
यति मात्रै नभई नेपाल भारत सीमा क्षेत्र वीगंज भन्सार, ड्राइपोर्ट क्षेत्रमा ट्राफिक प्रहरीको सक्रियता बढि देखिने गरेको छ । त्यस क्षेत्रमा अवैध असुली बढि हुने गरेका कारण ट्राफिक प्रहरीको ध्यान त्यही क्षेत्रहरुमा केन्द्रित हुने गरेको छ ।
भारतबाट आईसिपि हुँदै नेपाल प्रवेश गर्ने ओभरलोड ट्रक, कन्टेनर, जीप, ट्याक्टर लगायतका मालबाहक गाडीबाट प्रवेश शुल्कको नाममा वीरगंजका विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरीले १ देखि २ सय रुपैया तथा ओभरलोड भनेर ५ सय रुपैया अवैध रुपमा असुल्ने गरेका छन् ।
वीरगञ्जमा मात्रै होइन, जिल्लाको ग्रामीण क्षेत्रमा खटेका ट्राफिक प्रहरीहरु पनि अवैध रकम असुली गर्ने गरेको आरोप छ । ट्राफिक जाम समस्या समाधान लगाएतका अन्य समस्याबारे सोध्दा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भने यस्तो जवाफ दिन्छन् ।
केही वर्षदेखि ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी भन्दा पनि राजस्व असुलीलाई बढाउने मनसायले पनि छडके चेकजाँचलाई तिब्रता दिएको पाइन्छ । भारतबाट एकिकृत जाँच चौकी हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा नेपाली मालबाहक ट्रकहरुसँग ड्राइपोर्ट चोकदेखि पावरहाउस चोक, गण्डक चोक हुँदै परवानीपुर चोकसम्म खटेका ट्राफिक प्रहरी वैद्य तथा अवैद्य दुबै तरिकाले असुली गर्ने गरेको आरोप स्थानीयकै छ ।
नेपाल मालबाहक ट्रक तथा कन्टेनरबाट ओभरलोड गरेवापत न्यूनत्तम रकमको रसिद काटेर देखाउने तर अवैध रुपमा भित्रिन दिनका लाग साँठगाँठ गरि मासिक रुपमा ट्राफिक प्रहरीले रकम बुझ्ने गरेको आरोप छरपष्टै छ ।