पोखरा । पोखरा महानगरपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई निर्माण सम्पन्न प्रमाणपत्रमा छुट दिएको उजुरीका आधारमा आयोगको टोलीले कार्यालयमा छापा हानेको हो ।
अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धि अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल अस्पतालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।
यता सोमबार नै नेकपा एमाले पोखरा महानगर कमिटीले पत्रकार सम्मेलन गरेर मेयर धनराज आचार्यले अपारदर्शी ढंगले काम गर्दै मणिपाललाई राजस्व छुट दिएको र महानगर भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएको छ ।
महानगर भित्रका अपारदर्शी निर्णयको श्रृंखला नरोकिए भन्दै यसो भइरहे आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत एमाले पोखराले दिएको छ ।