News 24 Television
एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टर कार्ड 

कास्की । प्रविधिले फड्को मारेसँगै नेपालका बैंकहरुले पनि सुरक्षित डिजिटल बैंकिङ कारोबारलाई आत्मसाथ गरिरहेका छन् र आफुलाई परिमार्जित गरिरहेका छन् । 

यस्तैमा एनआईसी एसिया बैंकले पनि ग्राहकहरुका लागि मास्टर कार्ड लञ्च गरेको छ । मास्टर कार्ड प्रयोगमा ल्याएसँगै एनआईसीका ग्राहकले विश्वका २१० देशमा डिजिटल बैंकिङ कारोबार गर्नसक्ने भएका छन् । 

विश्वव्यापी रुपमा मास्टर कार्डको प्रयोगकर्ता बढिरहेको अवस्थामा एनआईसी एसिया बैंकले पनि मास्टर कार्ड लञ्च गरेको छ । 

ग्लोबल ब्राण्ड मास्टर कार्डसँगको सहकार्यमा आइतबार पोखरामा एक कार्यक्रमकाबीच भारतकी प्रतिनिधि आस्था प्रिया दर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रयोगमा ल्याएको हो । 

सुरक्षित डिजिटल बैंकिङ कारोबार र विश्वका विभिन्न देशमा जाँदा सोही कार्ड प्रयोग गरि कारोबार गर्न मिल्ने भएकाले पछिल्लो समय मास्टर कार्डको महत्व बढिरहेको बैंकले जनाएको छ । मास्टर कार्ड प्रयोग गर्दा डिजिटल बैंकिङ कारोबार अझ राम्रो, सुरक्षित र सुविधायुक्त रहेको एनआईसि एसिया बैंक गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्मा बताउँछन् ।

अहिलेको युग डिजिटलको युग मानिन्छ । विभिन्न प्रविधिको विकासले संसारलाई निकै साँघुरो बनाएको छ भने मानिसको जीवनलाई अझ सहज पनि बनाएको छ । नेपालका बैंकिङ सेक्टरमा एटिएम कार्ड, एससिटी कार्ड, भिसा कार्ड हुँदै अहिले मास्टर कार्डमा फड्को मारिरहेको छ । 

विश्वव्यापी कारोबार गर्न मिल्ने यस मास्टर कार्डको आकर्षण र आवश्यकता नेपालमा पनि देखिएको छ । यो कार्ड ग्लोबल टेक्नोलोजी कम्पनी भएको र प्रयोगमा आएका अघिल्ला कार्डहरु भन्दा निकै सुरक्षित रहेको ग्लोबल कम्पनीका नेपाल प्रतिनिधि पवन शैल बताउँछन् ।

आफ्ना ग्राहकलाई यसअघि भिसा कार्ड दिँदै आएको एनआईसी एसिया बैंकले अबदेखि मास्टर कार्ड दिने भएपछि ग्राहकले जुनसुकै कुनामा गए पनि कारोबार गर्न सजिलो हुने बैंकले जनाएको छ । विश्वव्यापीरुपमा मास्टर कार्डको प्रयोगकर्ता बढिरहेकाले पनि एनआईसी एसिया बैंकमा ल्याइएको र हाल यो कार्ड विश्वका २१० मुलुकमा प्रयोग गर्न सकिने बैंकका प्रमुख डिजिटल रणनीति अधिकारी नरेन्द्र मैनाली बताउँछन् ।

अहिले सूचना प्रविधिको जमाना भएकाले पनि पहिलेको जस्तो बैंकहरुमा पैसा जम्मा गर्न, निकाल्न र रकमान्तर गर्न घण्टौं लाईन बस्नुपर्ने बाध्यतालाई कमी गर्न एटिएम, क्यास डिपोजिट मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, मास्टर कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्युआर जस्ता प्रविधिको आगमनले बैंकिङ प्रणालीमा सरलताका साथै सहजता समेत ल्याएको छ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update