News 24 Television
ओलखढुंगे किसानहरु ब्यवसायिक च्याउ खेतीमा आकर्षित

ओखलढुङ्गा । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि ओखलढुंगामा फार्म दर्ता गरी किसानहरु ब्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन । थोरै पुँजी लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउखेतीमा किसानको आकर्षण बढेको हो । विशेष गरी महिला कृषकहरु च्याउ खेतीमा संलग्न भएका छन्  ।

यिनी हुन्, ओखलढुंगाको सिद्धिचरण नगरपालीका ६ ठाडेकी कृषक डम्बरकुमारी मगर । झन्डै १० वर्षअघि साविक जिल्ला कृषि विकास कार्यालयले १० हजार अनुदान र च्याउको विउ समेत दिएपछि उनले ३ जनाको समुह बनाएर च्याउ खेती सुरु गरेकी थिइन् । 

च्याउ खेतीबारे आवश्यक तालिम र जानकारी हासिल गरेपछि महिलाहरुले सामुहिक रुपमा च्याउ खेती थाले । सानो परिमाणबाट च्याउ खेती थालेकी डम्बरकुमारीले यसैमा सम्भावना देखेपछि एकल फर्म दर्ता गरी ब्यवसायिक रुपमा नै च्याउ खेतीलाई निरन्तरता दिएकी हुन् । 

उनी सम्भवतः जिल्लाकै सबैभन्दा बढी च्याउ खेती गर्ने किसान बनेकी छन् । सोही ठाउँकी कृषक बुद्धमाया मगरले पनि ७ वर्ष अघिदेखि ब्यावसायिक रुपमै च्याउ खेती गर्दै आएकी छन् । आफ्नो टनेलमा अहिले १ सय ५० सिलिन्डर च्याउ खेती गरेकी बुद्धमायालाई परिवारका सदस्यहरुको पनि उत्तिकै साथ र सहयोग छ ।  

एकपटक लगाएपछि ३ देखी ६ पटक सम्म च्याउ टिप्न मिल्ने च्याउ प्रतिकेजी २ सयदेखि ३ सय रुपैयाँ सम्म विक्री हुने गरेको छ । जिल्लाको जन्तरखानी, सल्लेरी, ज्यामिरे, बेतिनी लगायतका क्षेत्रमा सबैभन्दा धेरै च्याउ उत्पादन हुने गरेको छ । 

जन्तरखानीमा मात्रै १ दर्जन भन्दा बढी कृषकले कन्ये च्याउको खेती गर्दै आएका छन् भने ४ जनाले लामो समयदेखि यसको ब्यावसायिक खेती गर्दै आएका छन् । ब्यावसायिक रुपमा च्याउ खेती गरेका कृषकले उत्पादन राम्रो हुँदा बार्षिक २ लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् । च्याउ खेतीमा यहाँका कृषकको आकर्षण बढेपछि कृषि ज्ञान केन्द्र किसानको सारथि बनेको छ । 

मौसम अनुसार वार्षिक २ पटकसम्म च्याउ उत्पादन गर्न सकिन्छ । थोरै लगानीमा पनि खेती गर्न सकिने र उत्पादन भएपछि बजारको पनि सम्भावना रहेकोले च्याउ खेतीमा जिल्लाका कृषकलाई आत्मनिर्भर बनाउन सकिने देखिन्छ । त्यसका लागि स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको पनि साथ जरुरी छ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update