News 24 Television
सर्लाहीमा भेटिए अवैध स्वास्थ्य क्लिनिकहरु 

सर्लाही । सर्लाहीमा दर्जनौं स्वास्थ्य क्लिनिक तथा औषधि पसलहरु दर्ता बिना नै सञ्चालनमा रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नेतृत्वमा भएको अनुगमनका क्रममा औषधि पसलहरु अवैध भेटिएको हो । 

बिना दर्ता सञ्चालन भइरहेका यस्ता क्लिनिकहरुमा अवैध गर्भ परीक्षणदेखि भ्रुण हत्यासमेत गर्ने गरेका छन् । केही अस्पतालहरु समेत दर्ता बिना नै सञ्चालन भएको भेटिएको हो । 

१५ बेडसम्मको अस्पताल तथा क्लिनिक सञ्चालन गर्न स्थानीय सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ । तर सर्लाहीको लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, गोडैता, ईश्वरपुर मलंगवा लगायतका ठाउँमा दर्जनौको संख्यामा बिना अनुमति यस्ता अस्पताल तथा क्लिनिकहरु सञ्चालन भइरहेका छन् । 

बिना दर्ता सञ्चालनमा रहेका यस्ता निजी स्वास्थ्य संस्थाहरुले गर्भवती महिलाहरुको गर्भ परीक्षण गर्नुका साथै कानून विपरीत लिङ्ग पहिचान गराई भ्रुण हत्या गर्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा अनुगमन गरिएको हो । 

त्यस्ता क्लिनिकहरुमा अवैध गर्भ परीक्षण गर्नकै लागि अल्ट्रासाउन्ड मेसिन राखेर ब्यापार चलाइरहेका छन् ।  

केही दिनयता, जिल्ला प्रशासन कार्यालय सर्लाहीको नेतृत्वमा सम्बन्धित पालिकासहित स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायका प्रतिनिधिसहित क्लिनिकहरुको अनुगमन चलिरहेको छ । 

यसक्रममा अनुमति नै नलिइ संचालनमा रहेका मलंगवाका ७ वटा र लालबन्दी नगरपालिका वडा नम्बर १, नवलपुर बजारमा रहेका ६ वटा स्वास्थ्य संस्थाहरुलाई दण्ड जरिवाना गराई तुरुन्त सुधार गर्नका लागि चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

मलंगवास्थित प्रादेशिक अस्पताल आसपास सञ्चालित अधिकांश निजी क्लिनिक, ल्याब तथा अल्ट्रासाउण्ड क्लिनिकहरु बिना अनुमति सञ्चालन भइरहेका छन् । यस्ता क्लिनिक तथा ल्याबहरु विना स्वास्थ्यकर्मीहरुबाटै सञ्चालन भइरहेको समेत भेटिएको छ । 

जिल्लामा सञ्चालित मापदण्ड विपरीत सञ्चालनमा रहेका १२ औषधि पसल तथा क्लिनिकहरू कारवाहीमा परेका छन् । वर्सेनि एक–दुई पटक अनुगमन गर्ने गरिए पनि नियमित अनुगमन र कारबाही नहुँदा अवैध स्वास्थ्य क्लिनिकहरु सञ्चालनमा रहेका हुन् । 

त्यसैले अनुगमनको झारा टार्ने र केही जरिमाना गराएर छाड्ने प्रवृत्तिले विचौलियाहरुको मनोबल झनै बढ्ने देखिन्छ । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने जो कोही कडा भन्दा कडा कारबाही गर्न जरुरी छ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update