काठमाडौं । आफूलाई बढी भावनात्मक र कोमल ठान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेला बखत आफ्नै बोलिले विवादीत बन्छन् ।
दशवर्षे जनयुद्ध र शान्तिप्रक्रिया पछि खुला राजनीतिमा आएका प्रचण्ड सत्ताका लागि चतुर खेलाडी मानिन्छन् । तर प्रचण्ड कुन समयमा कस्तो अभिव्यक्ति दिने भन्ने विषयमा बारम्बार चुक्दै आइरहेका छन् । यसलाई उनी आफू बढी भावनात्मक हुनुको परिणाम भन्दै जोगिने गरेका छन् ।
गत वर्ष भारतीय मुलका एक व्यावसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिए । जुन अभिव्यक्लिे उनलाई संसदमा प्रष्टिकरण दिन बाध्य पार्यो ।
त्यस्तै तत्कालीन नेकपा कालमा केपी ओली प्रधानमन्त्री रहँदा उनको भेनेजुयला संकटको विषयमा अभिव्यक्त धारणा विवादित बन्यो ।
जसले तत्कालीन दुई अध्यक्ष ओली र प्रचण्डबीच विवादो विजारोपण भएको थियो । प्रधानमन्त्री प्रचण्डले केही दिन अघि मात्रै आफ्नै हातमा रहेको सत्ता नेतृत्व अफ्ठ्यारोमा पर्ने पक्षको ख्यालै नगरी यस्तै एक अभिव्यक्ति दिए ।
बजेट र सरकारप्रति असन्तुष्ट रहिरहेका बेला नेकपा एमालेले आफ्नो अभिव्यक्तिलाई कुन रुपले लिन्छ भन्ने पक्षलाई ख्यालै नगरेका प्रचण्डले आफूलाई कुनै पनि दलले सहजै हटाउन नसक्ने दावी गरे । प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिँदा सत्तारुढ दल नेकपा एमालेमा चिसो पस्ने आंकलन गरिएको थियो । यो अभिव्यक्तिपछि प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सहकार्य त नहोला ?
भन्ने शंका पनि पैदा भइरहेको छ । प्रचण्डले आफूलाई हटाउन सक्ने खतरा नरहेको भनिरहँदा उनले एमाले–काँग्रेस मिल्नसक्ने संभावनालाई ख्याल गरेको पाइएको थिएन ।
जबकी संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र एमाले मिलेमा सजिलै शक्तिशाली सरकार बन्छ । तर प्रधानमन्त्री प्रचण्डले विभिन्न इतिहास, आन्दोलन र मुद्धाका कारणले काँग्रेस–एमाले मिल्न नसक्ने दावी गरिदिए ।
तरपनि अहिले प्रचण्डले दावी गरेको भन्दा फरक राजनीतिक गतिविधि देखिन थालेका छन् । प्रमुख प्रतिपक्षी दल काग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको छ ।
ओलीको निम्तोमा बालकोट पुगेका देउवाले ओलीसँग करिब ३ घण्टा छलफल भएको बुझिएको छ । देउवा श्रीमती आरजुसहित अपरान्ह बालकोट पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक विषय र देशको वर्तमान अवस्था बारे छलफल भएको दावी गरिएको छ ।
खासगरी देउवा ओलीबीच (टीआरसी) संशोधन विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको बताइएको छ । यद्यपि यस भेटलाई कतिपयले काँग्रेस र एमालेबीचको सहकार्यको पहिलो कदमको रुपमा चर्चा गरिरहेका छन् ।
यसअघि ठूलै सहकार्यका लागि बालकोट पुग्ने गरेका देउवा यो पटक पुनः ओली निवास पुग्नुलाई अर्थपूर्ण लिइएको छ । उता नेपाली काँग्रेसले भने यस भेटबाट नयाँ सहकार्यको ढोका खुला भएको जिकिर गर्न थालिसकेको छ ।
काँग्रेस पक्षको सस्तो दावी भएपनि यसबारे थप तथ्यहरु भने खुल्न बाँकी नै छ । पछिल्लो समय काँग्रेसले सत्तामा फर्किन विभिन्न प्रयास भने गर्दै गरिरहेका छ ।
उसले सत्ता गठबन्धनमा खटपट भइरहँदा माओवादीसँग पुनः सहकार्य चाहेको पनि चर्चा भइरहेका छन् । यद्यपि बजेट पारित गर्नका एमालेले सरकारलाई सहयोग गरेपछि यो विषय मत्थर भएको थियो । तर यसपछि पनि देउवा र ओलीको भेटवार्ताले पुनः सत्ता समीकरण फेरबदलको चर्चा सुरु भएको छ ।
ओली पनि वर्तमान सरकारप्रति सन्तुष्ट छैनन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले पनि मन्त्रीहरुले निर्देशन नै नटेरेको भन्दै असन्तुष्टी व्यक्त गर्दै आइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले संसदमै दुखेसो पोख्नुअघि योजना र उदेश्य लिएर सत्तामा गएपनि सरकार गलत तरिकाले हिँडेको ओलीले आरोप लगाउँदै आएका छन् ।
सरकारमाथि विभिन्न खोट औल्याइरहेका ओलीले एक दुईजनाको मुख हेरेर अब सरकारमा बसिरहन नसक्ने बताउँदै आएका हुन् ।
ओलीको यस्तो भनाइपछि प्रधानमन्त्री प्रचण्डले काँग्रेस–एमाले मिल्न नसक्नेतर्फ संकेत गर्दै आफूलाई कसैले हटाउन नसक्ने दावी गरिदिए ।
यस अभिव्यक्तिलाई एमालेले तत्काललाई स्वभाविक ठानेपनि पछिल्लो समय भने इगोको रुपमा लिएको हुनसक्ने चर्चा भइरहेका छन् । यी र यस्तै चर्चाकाबीच ओली देउवासँग सहकार्य गर्दै प्रचण्डलाई पाखा लगाएर सत्ताको उलटफेर गर्नेतर्फ लागेको आशंका गर्न थालिएको छ ।