News 24 Television
संसद कानून बनाउने थलो मात्रै हैन, राष्ट्र निर्माणको केन्द्र हो : सभामुख 

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद कानून बनाउने थलो मात्रै नभएर राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र समेत भएको बताएका छन् ।

आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रै बुझ्न नहुने बताए । संसदको कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिने बताए । उनले संसदीय कुटनीतिले देशलाई ठिक दिशामा लैजान महत्वपूर्ण भुमिका खेल्ने पनि बताए  । 

 सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै उनले संसदले लिने अठोट र भुमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए । संसदले जनताको हृदयमा संसदीय कुटनीतिलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्नसक्छ कि सक्दैन भन्ने कुरा नै अहिलेको मननयोग्य कुरा रहेको उनको भनाइ छ । 

‘संसद एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानून बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार पनि गाइड हुन्छ । निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ,’ सभामुख घिमिरेले भने, ‘किनभने बहुमतले सरकार बनाउँछ । त्यसैगरी यसले कस्तो अठोट लिन्छ । कस्तो दिशा लिन्छ, त्यसले नै समाज कता जान्छ भन्नेकुरा निर्धारण हुन्छ र संसद कति स्थापित भएर जान्छ । जनताको हृदयमा यसलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्न सक्छ की सक्दैन ? यो कुरामा सोचेर प्रत्येकले भुमिका निर्वाह गर्नु आजको आवश्यकता हो । यसमा पनि दलीय व्यवस्थाअन्तर्गतको हाम्रो संसद छ । हामी निर्वाचित सांसदहरु समावेशिताको सिद्धान्तको आधारमा विभिन्न ढंगबाट आएपनि मुलतः दलीय आधारमा हामी आएका छाँै । यही थोरै तिनैमात्रै हामी स्वतन्त्र ढंगले आएपनि, आम रुपबाट दलीय आधारमा छौँ । दलको व्यवहारप्रतिको चिन्ता कस्तो छ । सांसदको भुमिकालाई कानून निर्माणमा होस्, सरकार निर्माणमा होस् वा संसदले बनाएको कानूनको आधारमा सरकार सञ्चालन गर्ने रुपमा होस् ।’

उनले अहिले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भुमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरु गरिसकोको बताए । २००७ सालदेखि बनेका कानूनहरु अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update