News 24 Television
प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ सार्वजनिक

काठमाडौँ । प्रकाश विकल्पको पुस्तक एन्टिथेसिस सार्वजनिक भएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरद्वारा शनिबार एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्व–विज्ञानमन्त्री गणेश शाह, पूर्व–राजदुत एवं मुख्य सचिव लिलामणि पौडेल, प्रा.डा. सुधा त्रिपाठी र प्रा.डा. दिनेश भुजुले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । 

डा. भट्टराईले पुस्तक खोजमूलक, ज्ञानवद्र्धक र वैचारिक रहेकाले युवापुस्ताले अध्ययन गर्न अति नै उपयोगी हुने धारणा राखे । विश्वमा बढ्दै गएको वैचारिक संकटको वर्तमान अवस्थामा पुस्तकले विचार विमर्शको स्थिति खडा गरेको उनले बताए । वैज्ञानिक तथ्यका आधारमा लेखिएको पुस्तक भएकाले यो पुस्तकलाई राज्यले नै लाखौँ प्रति छपाएर युवा विद्यार्थीको हातहातमा पुर्याउनुपर्नेमा उनले जोड दिए । 

WhatsApp-Image-2024-06-30-at-11.58.10-AM-1719729422.jpeg
 

जनार्दन शर्माले पुस्तक विज्ञान प्रविधि र परिवर्तनको पक्षमा रहेको बताए । निरन्तर संघर्ष, विकासक्रममा अनिवार्य हुने कुरामा पुस्तक केन्द्रित रहेको उनको भनाइ थियो । 

कार्यक्रममा टिप्पणीकारका रुपमा उपस्थित पूर्वमन्त्री गणेश शाह र पूर्व मुख्य सचिव पौडेलले पुस्तकले परिवर्तनको हुट्हुटीलाई नयाँ ढंगले अभिव्यक्त गरेको बताए । मन्त्री शाहले विज्ञान प्रविधिको विकासविना देशको विकास सम्भव नहुनेतर्फ औल्याउँदै पुस्तकले विज्ञान–प्रविधिको विकासलाई महत्वका साथ उजागर गरेको धारणा राखे । मानवजातिले विकास गरेका कतिपय सभ्यतालाई खराब भन्न नहुनेमा पौडेलको जोड थियो । 

त्रिभुवन विश्वविद्यालयकी पूर्वरेक्टर प्रध्यापक डा. सुधा त्रिपाठीले पुस्तकले आधुनिक युगको परिकल्पना गरेको बताइन् । पुस्तक अति नै महत्वपूर्ण रहेकाले स्कुल–क्याम्पसका सबै विद्यार्थीको हात–हातमा पु¥याउन सके फलदायी हुने उनको धारणा थियो ।

वैज्ञानिक खोज–अनुसन्धानमा संलग्न प्रध्यापक दिनेश भुजुले पुस्तकले मानवजातिको इतिहास मात्र नभएर भविष्यको समेत दिशाबोध गरेको बताए । परिवर्तनको पक्षमा लेख्ने–बोल्नेले विभिन्न चुनौतीको सामना गर्नुपरेको तथ्य स्मरण गर्दै जति नै चुनौती भए तापनि बौद्धिक वर्गले हिम्मत हार्न नहुनेमा उनको जोड थियो । 

Prakash-bikalp1-1719729421.jpeg
 

लेखकीय धारणा राख्ने क्रममा विकल्पले नागरिकले परिवर्तनको नियम नबुझेपछि देशले दुःख पाउने गरेको बताए । युरोपको पुनर्जागरण आन्दोलनको स्मरण गराउँदै उनले पुनर्जागरण आन्दोलनभन्दा अगाडि युरोप पनि डार्क एज (अन्धकार युग)मा नै रहेको बताए । युरोपको विकासका कोणबाट हेर्दा नेपाल आज पनि करिबकरिब डार्क एजमै रहेको उनको धारणा थियो । मानवजातिको इतिहास, विकासक्रम, विज्ञान प्रविधिको विकास हुँदै आज मान्छे आर्टिफिसियल इन्टिेलिजेन्सको युगमा कसरी आइपुग्यो भन्ने सवालको पुस्तकले तथ्यपूर्ण जवाफ दिएको उनले बताए ।    

शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो । पुस्तक शिखा बुक्सले नै बजारमा ल्याएको हो ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update