काठमाडौँ । कम्युनिष्ट धारका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच फेरि वामपन्थी एकताको चर्चा सतहमा आएको छ । यी दुई दल पहिलोपटक एकीकरण भएर २०७५ जेठ ३ गते नेपालको सबैभन्दा ठूलो दल ‘नेकपा’ गठन भएको थियो । २०७४ को आम निर्वाचनदेखि नै गठबन्धन र सहकार्य गरेर सत्ता सञ्चालन समेत गरेका एमाले–माओवादीको एकता दुई वर्ष पनि टिकेन । नेकपाभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति–संघर्ष चुलिँदै जाँदा २०७७ फागुनमा आएर सर्वोच्च अदालतको एक आदेशले उक्त पार्टी विघटन भएको थियो । अदालत एक माध्यम मात्र थियो, खेल भने ओली–प्रचण्डकै थियो । ओलीको संसद विघटन, प्रचण्डको प्रधानमन्त्री बन्ने आकांक्षामा तुषारापात, एमालेकै माधव नेपाल खेमाको असन्तुष्टि आदि कारणले नेकपा एकता टिकेन । एमाले समेत दुई टुक्रामा टुक्रिएपछि तत्कालीन नेकपा तीन धारमा विभाजित भयो । त्यसको चार वर्षपछि पुनः वामपन्थी एकताको नाममा एमाले–माओवादी र अन्य साना कम्युनिस्ट घटक दलहरूबीच एकताको रटान सुरु भएको छ ।
शुक्रबार नेकपा एमालेका नेता अमृतकुमार बोहराले कम्युनिस्टहरूको बीचमा सहकार्य र सहमतिका आधारमा पार्टी एकताको वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई वामपन्थी एकताका लागि पहल गर्न उनले आग्रह गरेका हुन् । जगत–सावित्री बोहरा स्मृति प्रतिष्ठानको एक कार्यक्रमलाई सम्बोधन गर्दै अमृत बोहराले अहिले प्रचण्ड प्रधानमन्त्री रहेको र सरकारमा ठूलो वामशक्ति रहेकाले वामपन्थी आन्दोलनको रक्षा एवं एकताका लागि ठोस पहल गर्नुपर्ने बताए । वामपन्थीहरूको बीचमा माक्र्सवादी दर्शन र सिद्धान्तका बारेमा विमति नरहेको भन्दै उनले लोकतन्त्र, समाजवादी आन्दोलन र समाजवादउन्मुख अर्थतन्त्रको एजेन्डा मिल्ने भएकाले सबै वामपन्थीहरू एकरुप हुनुपर्ने बताए ।
सोही कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरू वामपन्थी एकताको प्रक्रियामा अघि बढिसकेको बताए । उनले वामपन्थी एकतालाई सफल पार्न आ–आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्ने समेत बताए । अहिले देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उनले त्यो भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर कम्युनिस्टहरु केन्द्रित हुनुपर्ने बेला आएको बताए । क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्रीले यसमा सबै वामपन्थी शक्तिले साथ दिनुपर्ने बताए ।
यस्तै, पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर अघि बढ्नुपर्ने बताए । समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको उनको भनाइ छ । आफ्नो जीवनको अन्तिम घडीसम्म कुनै पनि त्याग गर्न र सारा तागत लगाएर नेपाली जनताको समाजवादको सपना साकार पार्न लागिपर्ने उनले बताए ।
तर, नेताहरुबीच बोलीमै सीमित समाजवाद र वाचा एवं प्रतिबद्धताबाट नेपाली जनता साँच्चै नै विरक्तिएको अवस्था छ । यसअघि प्रधानमन्त्री प्रचण्डकै पहलमा समाजवादी मोर्चा गठन गरिएको थियो । विचार र सिद्धान्त मिल्ने वामपन्थी दलहरुको शक्ति एकाग्र गर्ने उद्घोषका साथ गठित समाजवादी मोर्चा अहिले कोमामा पुगेको छ । एमालेबाहेकको उक्त मोर्चामा संसदबाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समेत सामेल थियो । डा. बाबुराम भट्टराईको पार्टीलाई समेत पाखा लगाएर बनाइएको उक्त मोर्चाको उद्देश्य पूर्व सत्ताघटक नेपाली काँग्रेसलाई साइजमा राख्नु थियो । पछिल्लो समय प्रचण्डले एमालेसँग नयाँ सत्ता गठबन्धन बनाएसँगै समाजवादी मोर्चा पनि निस्क्रियजस्तै देखिएको छ । बाबुरामको पार्टीलाई माओवादीमा गाभ्ने चर्चा लामै चले पनि त्यो समेत असफल भएको छ ।
अहिले माओवादी–एमालेबीच सत्ता–स्वार्थ र आगामी निर्वाचन (मिसन ०८४) केन्द्रित स्वार्थका कारण मात्रै गठजोड भएको देखिन्छ । यद्यपि एमाले अध्यक्ष ओली नै वामपन्थी एकताका लागि हतार गर्न नहुने पक्षमा रहेको उनका अभिव्यक्तिले दर्शाउँछ । यता माओवादीभित्र पनि आगामी निर्वाचनमा आफ्नो आकार कसरी सुरक्षित राख्ने या एमालेमै विलय हुने भन्नेमा दुई धार रहेका छन् । यी परिस्थितिका बीच प्रचण्डले एकताको पहल सफल बनाउन सक्लान् त ? हेर्न बाँकी छ ।