News 24 Television
किसानदेखि कृषि पर्यटनका लागि साधक बन्दै धान रोपाईँ

झापा । हरेक वर्षको असार १५ रोपाईँमा ब्यस्त वास्तविक किसान भन्दा गैर किसानलाई उत्सव बन्ने गरेको छ । सरकारले नै आजको दिन राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाउने गरेको छ । नेता कार्यकर्तादेखि कृषि कर्मचारीहरुले जिल्ला जिल्लामा रोपाईँ महोत्सव गर्दा पोखरामा भने विदेशी पर्यटकहरुको आकर्षण बनेको छ असार १५ । 

यो कुनै झगडा होइन, पोखरामा विदेशी पर्यटकहरु एक अर्कामा हिलो छ्यापाछ्याप  गरेर असार १५ को उत्सव मनाइरहेको दृष्य हो यो । 

कोही हिलो छ्यापाछ्याप त कोही हलो चलाइरहेका छन् भने कसैको हिलोमै कुदाकुद छ । पोखरा महानगरपालिका वडा नं. २४ पामे फाँटमा पोखरा पर्यटन परिषद्को आयोजनामा शनिवार भएको १९ औं संस्करणको रोपाई महोत्सवमा विदेशी पर्यटकले हिलोमा रमाइलो गरी रोपाईँ महोत्सव मनाएका छन् ।

‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा भएको यो रोपाई महोत्सवले अफ सिजनमा पनि पर्यटकको आकर्षण बढाउन सकिन्छ भन्ने सन्देश दिएको छ । वि.सं. २०६१ सालदेखि हरेक वर्ष हुने रोपाईँ महोत्सवमा हिले दौड, रोपाई प्रतियोगिता, हिले भलिबल प्रतियोगिता, रस्साकस्सी, हिलोमा माछा समाउने जस्ता प्रतियोगिता गरिँदै आएको छ । जसमा विदेशी पर्यटकहरुको समेत उत्साहपूर्ण सहभागिता हुने गरेको छ । 

असार किसानले मानो रोपेर मुरी फलाउने समय हो । त्यसैले असार १५ लाई विशेष दिनमा रुपमा मनाइँरहँदा यसले विदेशी पर्यटकलाई कृषिका बारेमा बुझाउन पनि सहज भएको पर्यटन ब्यवसायीहरु बताउँछन् ।

यस्ता महोत्सवले किसानलाई मात्र नभई कृषि पर्यटनमार्फत विदेशीहरु भित्र्याउन सकिने विश्वास ब्यवसायीहरुको छ । प्लटिङ गरेर घरघडेरीमा जग्गाको कारोबार न्यून गर्दै खेतीयोग्य जमिनलाई खेतीमा आकर्षण गराउन पनि यसले मद्दत पुग्ने विश्वास उनीहरुको छ । 

पोखरा पर्यटनको राजधानी भएकाले पनि रोपाई महोत्सवलाई पर्यटन प्रवद्र्धनसँग जोड्न सकिन्छ । त्यसैले कृषि पर्यटनमार्फत सबै क्षेत्रको प्रचार गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सके नेपालको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने नै छ । 

असार १५ लाई देशैभरी नै उत्सवकै रुपमा मनाइएको छ । झापाका किसानहरुले पनि धान रोप्दै हिलो खेल्दै रमाइलो गरे । खेतीपाती छाडेर बसेकाहरुलाई कृषिमा आकर्षण गर्दै उत्पादनमा बृद्धि गर्न यस्ता उस्सवले टेवा पुर्याउने किसानहरु बताउँछन् । 

धान उत्पादनमा देशकै अब्बल जिल्लाको रुपमा रहदैं आएको झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

असार पहिलो साताबाटै मनसुन भित्रएकाले झापा लगायत अधिकांश जिल्लाका किसानहरु धान रोपाईँमा ब्यस्त छन् । झापामा असार १५ सम्ममा करिब २० प्रतिशत रोपाई सकिएको छ ।  

प्रविधिको विकास नहुँदा झापा लगायत धान खेती हुने तराईका जिल्लाहरु पनि गोरुले जोतेर धान रोपाईँ गर्ने गरिन्थ्यो । प्रविधिको विकासले गर्दा परम्परागत रुपमा हुने गरेको रोपाइँ भने हराउँदै गएको छ । 

जसले गर्दा किसानलाई पनि सहज भएका छ । खेतीपाती लगाउने कामलाई यसरी उत्सवकै रुपमा मनाउँदा खेती किसानतर्फ अझ आकर्षण बढाउन मद्दत पुग्ने गरेको छ । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update