News 24 Television
असार १५ का अनेक दृष्य, अवस्था भने उस्तै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस यस वर्ष पनि मनाइएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त रहने गर्छन् । कामको व्यस्तताका बीच पनि यस दिन केही रमाईलो पनि गर्ने गर्छन्, किसान । 

यो दृष्य काठमाडौंमा रहेको काभ्रेस्थली स्थित थली गाउँको हो । खेतमा देखिएका रमाईला दृष्य यहाँ मात्रै होइन देशभर देखिने गर्छन् असार महिनामा । 

असार १५ मा रोपाइँको रौनक विशेष देखिन्छ । यस दिन नेपालभर राष्ट्रिय धान दिवस मनाइने भएकाले किसानले सामान्य समयमा भन्दा यस समयलाई विशेष खुशीका साथ रोपाइँ गर्दै सद्भाव साटासाट गर्छन् । 

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । 

मध्य गर्मीको समयमा युवा र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । 

यस वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ भने हुन सकेको छैन । कृषकका मुद्धा सरकारले प्रथमिकतामा राखेको दाबी गरेपनि उनीहरूका समस्या जस्ताको त्यस्तै छ । 

नेपालसंग सम्झनका लागि धान उत्पादन र व्यापारको गर्विलो इतिहास छ । सन् ६० को दशकमा वर्तमानको सबैभन्दा ठूलो धानचामलको निर्यातक भारतले चामल आयात गथ्र्यो । त्यसबेला नेपाल चामल निर्यात गर्ने मुख्य देशहरु मध्येको एक थियो । 

यो क्रम सन् ८५ को मध्यसम्म घट्दो क्रममा रहयो । जसको परिणाम १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । 

९० को दशकको सुरुवातसँगै नेपालको धानचामल व्यापारको नक्सामा परिवर्तन भएको बताइन्छ । जहाँ नेपाल निर्यातक देशबाट आयातकर्ता बन्न पुग्यो, त्यहीँ भारत र भियतनाम निर्यात बने ।

युवालाई कृषिमा आकर्षित गर्न नसक्दा वर्षेनी ठूलो धनराशी विदेशी रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष २०७९\८० अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ । 

मन्त्रालयका अनुसार नेपालमा वार्षिक ५५ लाख टन धान उत्पादन हुँदै आएको छ । खपत भने वार्षिक ७१ लाख मेट्रिक टनभन्दा बढी हुने गरेको छ । 

उत्पादित धानले नपुगेपछि विभिन्न देशबाट १७ लाख मेट्रिक टनभन्दा बढी धान आयात हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update