News 24 Television
जब धान रोप्न प्रधानमन्त्री जहाज चढेर चितवन पुगे ... 

काठमाडौं । असार १५ मा दहि चिउरा खाएर धान दिवसका रुपमा मनाउन गरिन्छ । वर्षभरी खानका लागि उत्पादन गरिने धान खेतीमा किसानलाई आकर्षण गर्नकै लागि असार १५ लाई सरकारले उत्सवकै रुपमा मनाउने गरेको छ । 

धान दिवस तथा रोपाईँ महोत्सव मनाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित अन्य मन्त्रीहरु चितवन पुगेर किसानका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 

चितवन कृषिका लागि अग्रणी जिल्लाका रुपमा चिनिन्छ । चितवनमा ब्यवसायिक खेतीप्रति आकर्षण बढिरहेको छ । 

तर किसानले सरकारबाट उल्लेख्य साथ सहयोग नपाउँदा उत्पादिन बस्तुहरु फाल्नुपर्ने अवस्था बेला बेलामा आउने गरेको छ । 

कृषि उत्पादनको बजारीकरण तथा उचित मूल्यका लागि सरकारलाई दबाब दिनकै लागि यहाँका किसानले सडकमा तरकारी फ्याँक्नेदेखि दुध पोखेर सांकेतिक विरोध नगरेका पनि होइनन् । तर यहि जिल्लामा सरकारले विशेष कार्यक्रम गरेर धान दिवस मनाएको छ । 

यहि अवसरमा कृषि क्षेत्रको समस्याबारे किसानले सरकारको ध्यानाकर्षण गराएका छन् । परम्परागत खेती प्रणालीबाट आधुनिकतर्फ अघि बढ्दै गरेकाले पनि यहि सन्देश दिनकै लागि यो महोत्सवमा मेशिनबाट धान रोपिएको थियो । 

कृषिलाई यान्त्रिकरण गरी उत्पादनमा वृद्धि गरिनुपर्नेमा सरकारको जोड रहेको छ । धान उत्पादन वृद्धि गर्न चैते धानको विकासमा ध्यान दिनुका साथै मलको पर्याप्तताको लागि वितरण प्रणाली सहज बनाइने कृषिमन्त्री ज्वालाकुमारी साह बताउँछिन् ।  

कृषिमन्त्री साह मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि किसानका समस्या समाधानमा गम्भीर रहेको बताउँछन् । 

देशमा कृषि विकास गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउन प्रधानमन्त्री प्रचण्ड र कृषिमन्त्री साह अघिल्लो दिन नै जहाज चढेर चितवन पुगेका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन तथा बछुली बहुउद्देश्यीय कृषक समुहले संयुक्तरुपमा आयोजना गरेको यो कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, यही क्षेत्रका सांसद हरि ढकालको सहभागिता थियो ।  

हरेक वर्ष हुने यस्ता कार्यक्रममा सरकारले करोडौं रुपैयाँ खर्चिने गरेको छ । तर किसानका समस्याहरु भने उस्तै रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update