News 24 Television
रवि र मुकुलबीच खटपट, पार्टीको प्रतिवेदनले जुर्मुराए नेताहरु 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र यतिबेला आन्तरिक विवाद चुलिँदो छ । यो विषयमाथि कतिपयले अब रास्वपाभित्र आन्तरिक कलह गहिरिएको टिप्पणी गर्न थालको छन् भने केहीले सामान्य मानिरहेका छन् । तर जे होस् पार्टी महामन्त्री मुकुल ढकालको प्रतिवेदनले रास्वपा तरंगित बनेको छ । र, यही कारण रास्वपाका नेताहरु पक्ष र विपक्षमा खरो रुपमा उत्रिन थालेका छन् । 

विशेषगरी गत बैशाखमा सम्पन्न इलाम – २ को उपनिर्वाचनमा रास्वपाले जमानत नै गुमाउनेगरी हार व्यहोर्नु पर्यो । जबकी अघिल्ला उपनिर्वाचनमा रास्वपाका उम्मेदवार ३ मध्ये दुई निर्वाचन क्षेत्रमा भारी मतले विजयी भएको थियोे । 

यही निरन्तरताको अपेक्षामा गठबन्धनमै रहेर एक्लो उम्मेदवारी घोषणा गरेको रास्वपाले इलाममा भने नमिठो हारको चाख्यो । 

हारपछि गम्भीर समीक्षामा पुगेको रास्वपाले महामन्त्री मुकुल ढकाललाई पार्टीको अवस्था बुझन देश दौडाहामा पठायो । 

३८ जिल्लाका नेता तथा कार्यकर्ताहरुसँग प्रत्यक्ष संवाद र प्रतिक्रिया लिएका मुकुलले रास्वपा गम्भीर विरामी परेको निश्कर्ष निकाले । 

सरकारमा जान हतार गर्नु, पुरानै दलहरुसँग गठबन्धन कायम गर्नुजस्ता कारणले रास्वपा उँधोगतिमा गएको निश्कर्ष मुकुलले निश्कर्ष निकालेका छन् । 

यही अवस्था रहे विवेकशील साझाजस्तै हुनेतर्फ पनि संकेत गरेका ढकालले रास्वपा आगामी निर्वाचनमा बल्लतल्ल राष्ट्रिय दल बन्न सक्ने र प्रत्यक्षतर्फ केही क्षेत्रमा मात्रै जित निकाल्ने दावी गरे । 

उनले प्रतिवेदनमा माओवादी केन्द्र र नेकपा एमालेको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा बालेन शाह तथा गोपी हमालजस्ता पात्रहरुसँग सहकार्य गर्दा हित  हुने पनि निश्कर्ष निकाले । 

कार्यकर्ताहरुद्वारा व्यक्त प्रतिक्रिया संकलन गरेका उनले पार्टी जर्जर अवस्थातर्फ उन्मुख र जनमत कमजोर भएको उल्लेख गरेका छन् । 

तर महामन्त्री ढकालले निकालेको निश्कर्षप्रति मुख्य पार्टी नेतृत्व र अन्य नेताहरु भने विश्वस्त छैनन् । ढकालको प्रतिवेदन र प्रतिक्रयाप्रति नेताहरुले ‘अब्जेक्सन’ गर्दै पार्टीमा जनमत नघटेको दावी गरिरहेका छन् । 

बरु महामन्त्रीमाथि नेताहरु व्यक्तिगत स्वार्थ र अन्यन्त्रैबाट परिचालित भएको आरोप लगाउँदै स्पष्टिकरण माग्नतर्फ केन्द्रीत भइरहेका छन् । 

प्रतिवेदन सार्वजनिक नहुँदै त्यहाँका बुँदाहरु मिडियामा छताछुल्ल पारेको विषयमा मुकुललाई रास्वपाले स्पष्टिकरण मागेको छ । विगतमा पनि पार्टी पदाधिकारीहरुसँग मुकुलको लफडा हुने गरेको तर सभापतिले नै बचाउ गर्दै आएको बताइन्छ । तर हाल मुकुल सभापतिसँग नै फायर भइरहेका छन् । 

प्रतिवेदनकै कारण मुकुलमाथि कारवाही गर्न सभापति रविलाई नेताहरुले दवाव दिइरहेको पनि बताइन्छ । यद्यपि रविले यसबारे कुनै प्रतित्रिया दिइसकेका छैनन ।  \

यही अवस्थामा शुक्रबार मुकुललाई रास्वपाको अनुशासन आयोगले पार्टीको सामान्य मर्यादा पनि पालना नगरेको भन्दै स्पष्टिकरण मागेको छ । 

महामन्त्री ढकाललाई अनुशासन आयोगले शुक्रबार प्रष्टिकरण धोध्दै पत्र पठाएको हो । तर मुकुलले उक्त प्रष्टिकरण माग गरिएको पत्र नखोल्ने र नपढ्ने अडान लिएका  छन् । महामन्त्री ढकाल आफूलाई सभापतिले बाहेक अन्यले स्पष्टिकरण माग्नै नपाउने दावी गर्दै त्यसप्रति वेवस्ता गरिरहेका हुन् । 

विभिन्न संचारमाध्यमहरुमा सभापति रविले प्रष्टिकरण मागेको भन्ने समाचारहरु आएको प्रति ढकाल भने असमत छन् । ढकालले शुक्रबार नै आफूलाई नेतृत्व तहबाट प्रष्टिकरण नमागिएको सामाजिक संजालमार्फत खुलाएका छन् ।  

बुधबार बुझाइएको प्रतिवेदन अहिले सभापति रवि लामिछानेले अध्यायन गरिरहेका छन् । यो सार्वजनिक हुने वा नहुने भन्ने विषय अन्योलमै छ । यो अवस्थामा उता महामन्त्री ढकाल भने आफ्नो प्रतिवेदन यथाशिघ्र जस्ताको त्यस्तै सर्वजनिक गरिनुपर्ने  माग गर्दै आइरहेका छन् । 
उक्त प्रतिवेदन सार्वजनिक नभए आफूमाथि अन्याय हुने ढकालको दावी छ । तर यहीबीच रास्वपाका अन्य नेताहरु भने मुुकुलको चरित्र र विगतको राजनीतिक गतिविधिबारे टिप्पणी गर्न थालेका छन् । 

पार्टीभित्र आत्तिनुपर्ने अवस्था नरहेको दावी गर्दै बरु यी समस्याहरुको सबै कारण मुुकुल नै भएको नेताहरु जिकिर गरिरहेका हुन् । 

रास्वपा नेता गणेश कार्कीले फेसबुक स्टाटसमार्फत सभापतिलाई होचो देखाउनको लागि षड्यन्त्रमूलक ढङ्गबाट प्रतिवेदन आएको दावी गरेका छन् । 

इलाम उपनिर्वाचन अघिको एक घटना कोट्याउँदै नेता कार्कीले त्यो बेला कानून र विधानविपरित आरोप लगाउँदै कोशी प्रदेशलाई संगठन विभाग प्रमुख बिमुख बनाएर एमालेलाई जिताउन मुकुलले नै सहज बनाइदएको आरोप लगाएका छन् । 

जसका कारण सास्वपा पराजित भएको नेता कार्कीको भनाइ छ । एमालेलाई जिताउन सहयोगसमेत गरेको आरोप खेपिरहेका मुकुलको नियतमाथि नै उनले शंका गरेका छन् । प्रतिवेदनमा बालेन गोपीजस्ता पात्रहरुसँग सहकार्य गर्नुपर्छ भन्ने महामन्त्रीले नै विगतमा उनीहरुलाई पार्टीमा आउनबाट रोकेको पनि रोकेको नेता कार्कीको दावी छ । त्यस्तै समानुपातिक सांसद छान्ने समयमा समेत मुकुलले विधि नै मिचेर आफ्ना मान्छेहरुलाई छानेको टिप्पणी हुने गरेको छ । 

समानुपातिक सांसद छनौँटका क्रममा निशा डाँगीलाई रोलक्रम नै मिचेर अघि बढाइएको मुकुलमाथि आरोप लाग्ने गरेको छ । पछिल्लो समय रास्वपा आन्तरिक विवादकै कारण सिथिल बन्ने स्थितिमा समेत पुगेको छ । 

सभापति रवि सहकारी ठगी प्रकरणले घेरिएको र आफ्नो कोटामा परेको दुई राजदूतको नाम टुंग्याउन नसकिरहेको अवस्थामा उब्जिँदो विवादले रास्वपा संकटतर्फ उन्मुख देखिन्छ । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update