News 24 Television
मुुकुलले किन आँफैमाथि देखे खतरा ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा यतिबेला गम्भीर विरामी परेको छ । यो भनाइ र निश्कर्ष अरु कसैको होइन, स्वयम रास्वपाका महामन्त्री मुकुल ढकाल र उनको प्रतिवेदनले बोलेको हो । 

खासगरी गत बैशाख १५ गते सम्पन्न इलाम – २ को उपनिर्वाचनमा नराम्रो हार व्यहोरेपछि रास्वपा गम्भीर समीक्षातर्फ लागेको थियो । उक्त समीक्षाको प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाइएको छ ।

०७९ सालमा सम्पन्न आम निर्वाचनमा पहिलो पटक सहभागी भएको रास्वपाले प्रत्यक्षतर्फ ७ क्षेत्रमा जित निकाल्यो । त्यस्तै देशभरबाट समग्रमा माओवादी केन्द्रको हारहारीमै मत ल्याएको रास्वपाले समानुपातिकबाट १४ सांसद नै थपेको थियो । जबकी हाल सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रकै पनि समानुपातिकमा १४ सांसद छन् ।

पार्टी स्थापनाको घोषणादेखि निर्वाचनसम्म आइपुग्दा रास्वपाप्रति जनआकांक्षा र लहर बढ्दो थियो । तर पछिल्लो सयम रास्वपा गम्भीर विरामी अवस्थामा रहेको महामन्त्रीको मुकुल ढकालको निश्कर्ष छ । 

एक महिनासम्म देशभरका कार्यकर्ता र नेताहरको प्रतिक्रिया र मनोभावना अध्यायन गरेर तयार गरिएको प्रतिवेदनमा पार्टीको गिर्दौ अवस्थाबारे चित्रण गरिएको बताइएको छ । 

तत्काल कठोर निर्णय लिएर अघि नबढे पार्टी गम्भीर संकटतर्फ धकेलिने प्रतिवेदनमा उल्लेख गरेको महामन्त्रीले बताइसकेका छन् । यसबाट बच्ने उपाय कठोर निर्णय र समीक्षा मात्रै भएको उनले संकेत गरेका छन् । 

तयर प्रतिवेदन बुधबार नै सभापति रवि लामिछानेलाई बुझाइएपनि हालसम्म सार्वजनिक गरिएको छैन । 

प्रतिवेदनमा पार्टीको आन्तरिक समस्याबाहेक वर्तमान राज्य संरचनाको बारेमा पनि टिप्पणी गरिएको छ । हालको प्रदेश सरसचनालाई हरहालत खारेजी गरिनुपर्ने विषयलाई पनि प्रतिवेदनमा बेजोडताका साथ उठाइएको छ । 

पार्टीमा पुरानै दलहरु झैँ देखिँदो व्यवहार र कु–कार्यहरुलाई राम्रोसँग केलाएको दावी गर्ने महामन्त्री ढकाल प्रतिवेदनकै कारण आँफैमाथि खतरा हुनसक्ने पनि दावी गर्छन ।  

आमनिर्वाचनपछि भएको पहिलो उनिर्वाचनमा चितन – २ र तनहुँ – १ बाट जित निकाले पनि पछिल्लो पटक भएको इलाम – २ को उपनिर्वाचनमा भने रास्वपाले जमानत नै गुमायो । त्यसपछि समीक्षाको मोडमा पुगेको रास्वपालाई महमन्त्री ढकालले प्रतिवेदनमार्फत पार्टी घोषणाविपरित हिँडेको औल्याएका छन् । त्यति मात्रै नभइ ढकालले पार्टीप्रति जनलहर र जनअपेक्षा घटेको निश्कर्ष निकाल्दै रास्वपामाथि नै खतराको घण्टीको संकेत गरेका हुन् ।   

किन घट्यो रास्वपाप्रति आकर्षण ? 

रास्वपा पुराना दल र नेताहरुको चरित्रमाथि नै प्रश्न उठाउँदै वैकल्पिक शक्ति बन्ने उदेश्यले स्थापित दल हो । 
मुलुकमा आमुल परिवर्तन गर्ने सोँच राखेर खुला राजनीतिमा आएका सभापतिसमेत रहेका गृहमन्त्री रवि बारम्बार विवादमा फस्नु र पुरानै दलहरुसँग उनको साँठगाँठ हुनु पनि पार्टीप्रति विकर्षण उब्जने कारण बन्यो । जसलाई महामन्त्री ढकालले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरेको दावी गरेका छन् । 

हाल सत्ता गठबन्धनमा रास्वपाले एमाले र माओवादी लगायतका दलहरुसँग सरकारको सहकार्य गरिरहेको छ । यही अवस्थामा प्रतिवेदनमा महामन्त्रीले  स्वतन्त्रबाट स्थानीय तहको प्रमुखमा निर्वाचित बालेन शाह तथा गोपी हमालजस्ता पात्रहरुसँग मिल्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

त्यस्तै सहकारी ठगी प्रकरणमा गृहमन्त्री रविमाथि लागेको  आरोप र विवादकाबीच स्वार्थ बाझिने गृहमन्त्रालय लिन गरेको हतारोले पनि रास्वपाको साख गिर्ने कारण बनेको छ । 

त्यस्तैगरी आफूमाथि लागेका आरोपहरुको खण्डन गर्न प्रहरी र महान्यायीवक्ताको प्रयोगले पनि रास्वपामाथिको जनविश्वास घटेको देखिन्छ  । यसका अलावा सत्तामा गएर रास्वपाकै मन्त्रीहरुले प्रतिबद्धता र अपेक्षा अनुसारको डेलिभरी दिन नसक्नु पार्टीप्रति विकर्षणको विन्दू बनेको छ । 

इसरी रास्वपा स्थापनादेखि सत्ता र सरकारमा आइपुग्दा रास्वपा लय गुमाउने अवस्थामा पुगेको यत्रतत्र टिप्पणी भइरहेका छन् । यसको पुष्टि स्वयम पार्टीकै महामन्त्रीले नै पनि गरिरहेका हुन् । 

मुलुकको विग्रिँदो अवस्थामा आमजनताका आशाको किरण बनेको रास्वपामा यसप्रकारको स्थिति आउनु दुखदः पक्ष हो । रास्वपाले सकेसम्म आफ्ना दुर्वल पक्षहरुलाई तत्काल सच्याएर जनपक्षीय काम गर्नेतर्फ उन्मुख हुँदै आफ्नो स्थापनाको औचित्य प्रमाणित गर्न  आवश्यक छ । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update