News 24 Television
सुनचाँदी व्यवसायीलाई लाग्यो चुनावः के छन एजेण्डा ?

काठमाडौं । सुनचाँदी व्यवसायीहरुको साझा संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनमा निर्वाचन हुने भएको छ । 

महासंघमा आवद्ध व्यवसायीहरुले प्यानल नै बनाएर प्रचारप्रसार अघि बढाएपछि निर्वाचन हुने सम्भावना बढेको छ । निर्वाचनबाट कार्यसमिति चयन गर्ने तरखरमा रहेको महासंघले सुनचाँदी व्यवसायमा देखिएको समस्या र सरकारले आफ्नो मागलाई सम्बोधन गर्न नसकेको विषयलाई समेत एजेण्डा बनाएका छन् । 

काठमाडौंको बालुवाटारमा जारी सुनचाँदी व्यवसायीहरुको साझा संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघको चौंथो महाधिवेशनमा दुई समुहबिच प्रतिस्पर्धा हुने भएको छ । 

वर्तमान् कार्यसमितीका बरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली र तृतिय उपाध्यक्ष विपिन रामदामले प्यानल बनाएर मैदानमा उत्रिएपछि निर्वाचन हुने भएको हो ।

रसाईली र रामदाम दुवै चितवनका हुन् । दुवै जनाको समुहले महाधिवेशन स्थलमा भोट मागिरहेका छन् । दुवैले अध्यक्षमा विजयी बनेमा सरकारले सुनमा लगाएको ५ प्रतिशत भन्सार महसुल घटाउने, सुन चाँदी ऐन निर्माण गर्न सरकारलाई दबाब दिने र बजारमा देखिएको अवस्थ प्रतिस्पर्धा हटाउने प्रतिबद्धता अघि सारेका छन् ।

महासंघ निर्वाचनमय बन्दै गर्दा प्यानलबाट महासचिवमा प्रतिष्पर्धि बनेका उम्मेदवारहरु पनि आफ्नो जितको निश्चितता दाबी गरिरहेका छन् । 

नेपालमा देशभर २० हजारको संख्यामा सुनचाँदी व्यवसायी छन् । यी व्यवसायीलाई आबद्ध गर्दै महासंघ अन्तर्गत रहेका ६५ जिल्ला नगर संघ र एक केन्द्र गठन गरीएको छ । त्यहाँबाट छानिएर आएका ४ सय ४६ जना प्रतिनिधिले मात्रै निर्वाचनमा मतदान गर्ने छन् । 

यता अध्यक्ष मणिकरत्न शाक्यले सरकारले आवश्यक कानून तर्जुमा गरेर सहजीकरण गर्नुपर्ने माग राखेका छन् । उसोतः सुनचाँदी व्यवसायीको माग सम्बोधन गर्ने गरि सरकारले बजेटमा समेत कुनै कार्यक्रम नल्याएको भन्दे नेपाल उद्योग महासंगले पनि आपत्ति जनाएको छ । 

नेपाली बजारमा विभिन्न समयमा हुने सुन तस्करी र ज्यालाजर्तीको बिषयमा व्यवसायीबिच नै कुरा नमिल्दा यो क्षेत्रमा तरङ्ग पैदा हुने गरेको छ । 

यस्तो विवाद र अवरोधलाई नयाँ कार्यसमितिले सरकारसमक्ष आफ्ना माग सम्बोधन गराउने गरि काम गर्नुपर्ने बेला आइसकेको छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update