News 24 Television
विदेशमा रहेका नेपालीको मताधिकारका लागि नाम दर्ता सुरु

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता सुरु भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुसँग पटक–पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए । उनले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गरेको बताए । सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने उनको भनाइ छ । 

प्रमुख आयुक्त थपलियाले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने बताए । उनले नेपालको माया भएका तर सेवा–सुविधा चाहिँ विदेशको लिनेहरुलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली संकलन गरिरहेको बताए । स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ–कहाँ मताधिकार दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने उनको भनाइ छ । 

निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्छ भन्ने निस्कर्षमा रहेको थपलियाले बताए । अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update