News 24 Television
सिन्धुपाल्चोकवासीका दुःख– वर्षा लाग्यो, निन्द्रा उड्यो 

सिन्धुपाल्चोक । वर्षा र बाढीले निम्त्याउने विपत्तिले अति प्रभावित क्षेत्र हो, सिन्धुपाल्चोक । पछिल्लो सात वर्षमा सिन्धुपाल्चोकवासी बाढीले मच्चाएको वितण्डाले दर्जनौं पटक विस्थापित छन् । वर्षायाममा सडक अवरोध हुने र गाउँ–गाउँ बीचको सम्बन्ध विच्छेद हुने नियति हरेक वर्ष सिन्धुपाल्चोकवासीले भोगेकै छन् । यस वर्ष पनि वर्षायामको शुरुवातसँगै बाढीले सडक संरचना विगारिसक्यो । अब थप कति दुःख् भोग्नु पर्ने हो भन्दै स्थानीय चिन्तामा छन् । 

सिन्धुपाल्चोक बाढीको उच्च जोखिममा रहेको क्षेत्र हो । यहाँ हरेक वर्ष बाढीले वितण्डा मच्चाउछ नै । हरेक वर्ष दर्जनौं वस्ती विस्थापित हुन्छन् । सिन्धुपाल्चोकवासीले भोग्ने यस्ता अप्रिय घटनाबारे संघीय सरकारलाई जानकारी नभएको होइन । अनि, सिन्धुपाल्चोकका सांसदले संसद बैठकमा विपत पूर्वतयारीकालागि आवश्यक व्यवस्थाको माग नगरेका पनि होइनन् । वर्षायाम शुरु हुनु पूर्वनै सरकारलाई सचेत गराएका सिन्धुपाल्चोकका सांसदले यस वर्ष शुरुवाति चरणमै बाढीले पु¥याएको क्षतिबारे समेत सदनमार्फत सरकारको ध्यानाकर्षण गराइसकेका छन् । 

यद्दपी, बाढीले बगाएका पुल पुनःनिर्माण गर्न होस वा विपत्त न्यूनीकरणको पूर्वतयारीमा होस सरकारको खास ध्यान नपुगको  गुनासो स्थानीयको छ । सिन्धुपाल्चोकको हेलम्बु, पाँचपोखरी र मेलम्ची गरी तीन पालिका जोड्ने पक्की पुल मेलम्ची बाढीले बगाएको ३ वर्ष भइसकेको छ । सिन्धुपाल्चोक मेलम्ची ११ फट्टेमा रहेको पुल बाढीले बगाएपछि स्थानीयले  सास्ती भोग्दै आएका छन् । फट्टे दुवाचौर पक्की मोटरेबल पुल २०७८ को बाढीले बगाएपछि ह्युम पाइप राखेर अस्थायी पुल बनाइएको थियो । मनसुन शुरु भएपछि बाढीले मेलम्ची ११ फट्टेमा रहेको अस्थायी पुल हरेक वर्ष बगाउने गरेको छ । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान असहज भएपछि कर्णाली पारी झै भएर बस्नुपरेको स्थानीयको दुखेसो छ ।   

यहाँ बर्खा लाग्ने बेलामा झिक्ने र हिउँदमा फेरि राख्ने गरेर ह्युम पाइपसहित अस्थायी पुल बनाइएको थियो । तर, यस वर्ष पुलको संरचना सुरक्षित गर्न नपाउँदै बाढीले बगाइदियो । अहिले मेलम्ची नगरपालिकाको वडा नम्बर ७ दुवाचौर, ८ केउरानी , पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ बाँसखर्क, २ बरुवा , हेलम्बुको पाल्चोक लगायत क्षेत्रमा यातायात आवागमनमा समस्या छ ।

यहाँ पक्की पुल बनाउनको लागि नगरपालिकाले वर्ष दिन अघि आप्mनै लगानीमा डिपिआर समेत तयार गरेको थियो । मेलम्ची ११ फट्टेमा बन्ने पुलको लागत रु. ३७ करोड १७ लाख ४९ हजार रहने प्रतिवेदनसहित पुल निमार्णको लागी मेलम्ची नगरपालिकाले गरेको अनुरोधलाई संघ र प्रदेशले बेवास्ता गरेको जनप्रतिनिधिकै गुनासो छ ।  

सिन्धुपाल्चोकवासीले हरेक वर्ष बाढीको समस्या झेल्दै आएपनि समस्या समाधानकोे दीर्घकालीन योजना सरकारसँग छैन । विपत्ति रोक्न सकिदैन तर त्यसले पार्ने क्षति न्यूनीकरणका थुप्रै उपाय हुन्छन् नै । यसतर्फ सरकारले प्रभावकारी कदम चाल्ने कि ? 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update