
काठमाडौं । विद्यालय स्तरीय परीक्षा एसईईको नतिजा प्रकाशित भएसँगै यस वर्षको नतिजामाथि विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । गत वर्षको तुलनामा यस वर्ष एसईईमा अनुर्तिण हुने विद्यार्थीको संख्या धेरै नै बढी देखिएको छ ।
(एसईई) परीक्षामा सहभागी भएका कुल ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थी मध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए । अनुतिर्णको संख्या किन र कसरी बढ्यो ? वर्तमान नतिजाले शिक्षा क्षेत्रमा के र कस्ता कुरामा सुधारतर्फ संकेत गर्छ ? सरोकारवालाहरुले यस नतिजाको विश्लेषणलाई सैदान्तिक र मनोवैज्ञानिक कोणबाट विश्लेषण गर्दा के भन्छन् त ?
कक्षा १० को परीक्षाले शिक्षामा सरकारले गरेको लगानीको वास्तविक प्रतिफल उजागर गरेको छ । २०७२ देखि विद्यार्थीको सिकाइ उपलब्धी ग्रेडिङ प्रणालीबाट गर्न थालेको राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीले माथिल्लो कक्षा पढ्न पाउनुलाई मात्र उपलब्धी मानेको थियो । १० बर्ष यता विद्यार्थीको सिकाई कस्तो छ भन्ने हेर्दै हेरिएन । त्यसले विद्यालय शिक्षा झन खस्किदै लग्यो ।
विद्यार्थीको सिकाइ नै कमजोर भएको भन्दै बोर्डले निश्चित अंक ल्याउनै पर्ने प्रावधान सहितको लेटर ग्रेडिङ लागु गरायो । जसले यस बर्ष २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी कक्षा ११ मा भर्ना नै हुन नपाउने गरि नतिजा आयो । ५२ प्रतिशत विद्यार्थीको ननग्रेड आयो अर्थात अनुर्तिण भए ।
२०६० सालमै विद्यार्थी उत्तिर्ण दर ४६.१८ प्रतिशत थियो । ०६५ मा आएर उत्तिर्ण दर अड्सठ्ठी प्रतिशत सम्म पुगेको थियो । अहिले विद्यालय शिक्षाको स्तर १५ वर्ष पहिलेको भन्दा पनि खस्किएको देखिन्छ ।
परीक्षा एसईईमा सबै भन्दा धेरै विद्यार्थीको गणित विषयमा ननग्रेड आएको छ । यो संख्या विगत २ बर्ष यता बढ्दै गएको देखिन्छ । यस बर्ष १ लाख सतहत्तर हजार ९ सय ८५ जना विद्यार्थीको ननग्रेड छ । गत वर्ष १ लाख ५५ हजार विद्यार्थीले गणितमा इ ग्रेड पाएका थिए ।
०७८ को नतिजामा पनि परीक्षा दिएका मध्ये ३७ प्रतिशतले गणितमा २० अंक भन्दा कम ल्याएका थिए । त्यसपछी सबै भन्दा धेरै ननग्रेड आउने दोश्रो विषय विज्ञान हो ।
विज्ञानमा १ लाख २६ हजार ९ सय ३३ जना विद्यार्थीको ननग्रेड आएको छ । अग्रेजीमा एनजी आउने विद्यार्थी १ लाख १ हजार ३ सय ८३ जना छन् ।
सामाजिक विषय मा तिर्हत्तर हजार ८ सय सतहत्तर विद्यार्थीको एनजी आएको छ भने नेपालीमा ६९ हजार ५ सय ३२ जना विद्यार्थी रहेको छन् ।
यस बर्ष सबै भन्दा कम १ दशमलव ६ देखि २ जीपीए ल्याउने ६ जना मात्र विद्यार्थी छन् भने १ सय छयासी जना विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् । दुई विषयमा ननग्रेड ल्याएका मध्ये १ लाख १५ हजार विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएका छन् ।
यस्तो छ जीपीएको समग्र विवरण
– सबै भन्दा बढी २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउने ७८ हजार ८ सय ७४ जना
– ३ दशमलव २ देखि ३ दशमलव ६ ल्याउने ६८ हजार २ सय ५६ जना
– ४१ हजार १ सय ७७ जनाको २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए
एसईईमा पास हुन यस वर्ष प्रयोगात्मक र सैद्धान्तिकतर्फ ३५ प्रतिशत नम्बर ल्याउनै पर्ने प्रावधान राखियो । यो प्रावधानले विद्यालय शिक्षा सुधार हुने अपेक्षा छ ।
सरकारले कक्षा १२ लाई माध्यामिक तह मानेका कारण एसईई परीक्षा खारेजी गर्न पटक पटक आवाज उठ्ने गरेको छ ।
कोरोना संक्रमणको समयमा विद्यालयको मूल्याकंनमा पास भएका विद्यार्थी र यस वर्ष देखि परीक्षामा गरिएको कडाईले विद्यार्थीको मनोभावनामा भने असर पार्ने देखिएको छ ।
विद्यार्थीको मनोवैज्ञानिक त्रास हटाउदै शिक्षा सुधारका लागि सरकारले प्रभाकारी योजना ल्याउन भने आवश्यक देखिन्छ ।