News 24 Television
रानीको सुन्दर दरबार हेर्न चुके पर्यटक, देखाउने कसले ?

कास्की । पोखराको दरबारका रुपमा परिचित ‘रत्न मन्दिर दरबार’ परिसर सर्वसाधारण तथा पर्यटकका लागि खुला भएको १ वर्ष पुरा भइसकेको छ । 

पूर्वराजपरिवार बस्ने गरेको यो ऐतिहासिक दरबार सर्वसाधारणका लागि खुला त गरियो, तर प्रचारतर्फ खास ध्यान दिइएन । त्यसैले ओझेलमै छ यो दरबार । 

नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको ठाउँ हो पोखरा । यहाँ पर्यटक लोभ्याउने उत्कृष्ट गन्तव्यहरु धेरै छन् । तर, कतिपय पर्यटकीय गन्तव्य हुँदा हुँदै पनि प्रचार प्रसारको कमी हुँदा ओझेलमा छन् । 

ओझेलमा परेका मध्येको एक गन्तव्य हो, ‘रत्न मन्दिर दरबार परिसर’ । पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर दरबार परिसर सर्वसाधारण तथा पर्यटकको लागि खुला गरिएको एक वर्ष पूरा भइसकेको छ । तर, यसको अवलोकन गर्ने पर्यटकको संख्या न्युन छ । 

पर्यटकका लागि नयाँ गन्तब्य थपिने आसाका साथ स्थानीय, पर्यटन व्यवसायी, सरोकारवाला निकायले जुन अर्थमा रत्नमन्दिर दरबार परिसर खुलाउन सरकारलाई आग्रह गरे त्यसअनुसार रत्नमन्दिरले पर्यटकलाई तान्न सकेन । 

पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरु बढिरहेको अहिलेको अवस्थामा पनि यहाँ पछिल्लो एक वर्षमा नेपाली २१ हजार चार सय ४५ र विदेशी ४ सय ३५ गरि कुल २२ हजार एक सय ८० जना पर्यटकले मात्रै अवलोकन गरे । यसरी हेर्दा यहाँ दैनिक ५० जना पर्यटक समेत नपुगेको देखिन्छ । 

यो पोखरामा दैनिक आउने पर्यटक संख्याको तुलनामा निकै न्यून हो । रत्नमन्दिर दरबारमा पर्यटक बढाउन मुख्य दरबार खोल्नुपर्ने र यहाँका होटल तथा पर्यटन व्यवसायीले रत्नमन्दिर दरबार परिसरलाई पनि पर्यटकीय गन्तव्य हो भनेर प्रचार गरेमात्रै यसले गति लिने  देखिन्छ ।

दरबार खुलाउनु मात्र ठुलो कुरा नभई यसलाई आकर्षक र व्यवस्थीत बनाउन सके पर्यटकको गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायीहरु सुझाउछन् । 

प्रवेश शुल्क समेत बढी भएकाले घटाउनु पर्ने र विहान १० देखि साँझ ४ बजेसम्म मात्र खुला राख्ने नभई यसलाई बढाउनु पर्ने देखिन्छ । तर, यसका लागि आवश्यक कदम चालिएको छैन ।

पोखराको लेकसाईडस्थित फेवाताल छेउमा रहेको पार्कसहितको रत्न मन्दिर दरबार परिसर २०१५ सालमा राजा महेन्द्रले आफ्नी श्रीमती रत्नको नाममा बनाउन लगाएका र राजपरिवारका सदस्यहरू पोखरा आउँदा बस्ने गरेका थिए । 

राजपरिवार र राजा पोखरा आउँदा बस्ने दरबारको रूपमा स्थापित यो पार्क विसं २०६७ पछि नेपाल ट्रस्टको मातहत  छ । रत्नमन्दिर परिसरभित्र ऐतिहासिक रत्नमन्दिर दरबार लगायत तालघर, बालबगैंचा गरी सानाठुला १० वटा भवन रहेका छन् । 

दरवारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङ सहित ११ वटा कोठा छन् । तर अहिले पनि दरबारको भित्री कक्षहरुमा जान भने निषेध छ । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update