News 24 Television
ऐन विपरित जग्गामा लगानी गर्दा समस्यामा मिलन 

काठमाडौं । न्यूरोडमा रहेको मिलन बहुउदेश्यीय सहकारीले ३६ सयभन्दा बढि बचतकर्ताको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी बचत रकम १८ महिनादेखि फिर्ता नगरेपछि बचतकर्ताहरु थप मारमा परेका छन् । 

पटक पटक सहकारीमा पुगेर बचत फिर्ता माग्दा पनि भाका सार्दै आएको गुनासो बचतकर्ताको गुनासो छ । मिलन सहकारीले सहकारी ऐन बिपरीत घर जग्गामा लगानी गर्दा अहिले बचतकर्ताको अबौं रकम जोखिममा परेको हो । 

सहकारी ऐन २०७४ अनुसार कुनै पनि सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा सहकारी बैंक वा साना किसान लघुवित्त संस्थाको सेयर खरिदबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म, कम्पनी वा अन्य कुनै पनि बैंकको शेयर खरिद वा अन्य कुनै पनि प्रयोजनमा उपयोग गर्नु हुँदैन । 

सहकारी ऐनमा स्पष्टसँग बचतकर्ताको रकमले के के गर्न सकिन्छ भनेर लेखिएको छ । तर नेपालका सहकारीहरुले ऐनमा भएका यी कुराहरुलाई लात हान्दै आफुखुशी बचतकर्ताको रकममा हालीमुहाली गर्दै आइरहेका छन् । 

नियमकानूनको धज्जी उडाउँदै सहकारी सञ्चालकहरुले आफुखुशी बचतकर्ताको रकम घरजग्गा, आफ्ना व्यक्तिगत विलासीका सामान खरिद गर्न र सेयर कारोबारमा दुरुपयोग गर्दै आइरहेका छन् । 

यही कारण पनि पछिल्लो समय नेपालका अधिकांश सहकारीहरु समस्याग्रस्त छन् भने लाखौ नागरिक अर्बौ रुपैयाँ डुब्दा मर्नु न बाँच्नुको अवस्थामा छन् । 

बचतकर्ताको रकम हिनामिना गर्ने सयौँ सहकारीहरुको भीडमा मिलन बहुउद्देश्यीय सहकारी संस्था पनि थपिएको छ । संघीय राजधानी काठमाडौँको मुख्य व्यापारिक केन्द्रमा रहेको यो सहकारीले अहिले ३६ सयभन्दा बढि बचतकर्ताको बिचल्ली बनाएको छ । सहकारीले बचतकर्ताको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढि हिनामिना गरेको छ । 

आफ्नो बचत रकम फिर्ता पाउ भन्दै अहिले दैनिकरुपमा बचतकर्ता सहकारी धाउन बाध्य छन् । तर पछिल्लो १८ महिनादेखि यो सहकारीले बचतकर्तालाई झुलाउने काम मात्रै गरिरहेको छ । 

मिलन बहुउद्देश्यीय सहकारी पनि अन्य सहकारी जस्तै बचत रकम मनोमानी ढंगले दुरुपयोग गर्दा समस्यामा पुगेको हो । यो सहकारीले पनि ऐन विपरित घरजग्गामा लगानी गरेको छ । सहकारीले धेरै ठाउँमा बचत रकमबाट घरजग्गा खरिद गरेको बचतकर्ताहरुको आरोप छ । सहकारीमा बचत गरिएको रकम घरजग्गामा लगानी गरिएको सहकारीकै कोषाध्यक्ष दिनेश बज्रचार्यले स्वीकारेका छन् । बचकर्ता दिनहुँ पैसा फिर्ता माग्दै सहकारी पुग्न थालेपछि मिलन बहुउद्देश्यीय सहकारीले हिनामिना गरेको सार्वजनिक भएको हो । 

कतिपयले सहकारी विभागमा पुगेर उजुरी समेत दर्ता गराईसकेका छन् । बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो न्यूज २४ टेलिभिजनसम्म आइपुगेपछि यसबारे प्रतिक्रिया लिदाँ सहकारीका कोषाध्यक्ष दिनेश वज्रचार्यले हाँकाहाँकी काठमाडौँको कान्तिपथमा रहेको जग्गा बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गछौँ भन्दै बचतकर्ताको रकम घरजग्गामा लगानी भएको स्वीकारेका हुन् । 

सहकरीमा सेयर सदस्यहरुको जम्मा १४ करोड मात्रै सेयर पुँजी छ । यति मात्रै सेयर पुँजी भएको सहकारीको न्यूरोडमा आफ्नै भवन छ, अझ सहकारीका सञ्चालकहरुको नाममा सहकारीकै पैसाले किनेको कान्तिपथ सहित देशका विभिन्न स्थानमा जग्गाहरु छन् ।

सहकारीका सञ्चालकहरुले बचतको अपचलन गरी आफ्नो नाममा जग्गा किनेको बचतकर्ताहरु बताउँछन् । बचतकर्ताको रकम सहकारीको ऐन र मर्म विपरीत सञ्चालकहरुले जथाभावी लगानी गर्दा न्यूरोडको मिलन बहुउदेश्यीय सहकारीमा समस्या आएको प्रष्ट देखिन्छ । 

बचतकर्ताको रकम ऐन बिपरीत जग्गामा किन लगानी गरेको ? भन्ने प्रश्न सहकारीका सञ्चालकलाई गर्दा सहकारीको रकम जग्गामा लगानी गर्न नपाउने ऐन बन्न भन्दा अगाडि नै जग्गामा लगानी गरेको भन्ने टालटुले जवाफ दिन्छन् । 

देशकै मुख्य व्यापारिक केन्द्रमा रहेको मिलन बहुउद्देश्यीय सहकारीमा अधिकांस व्यापारिक पृष्ठभूमिका व्यक्तिहरुले बचच गरेका छन् । 

सहकारीमा साधारण बचतकर्ता बाहेक एकै व्यक्ति वा परिवारका सदस्यहरुको नाममा ३ करोडदेखि ५० करोड रुपैयाँसम्म बचत छ ।

बचतकर्ताहरुलाई सहकारीले बचत फिर्ता गर्नुको साटो उनीहरुकै बचतबाट किनिएका कम मूल्यका जग्गाहरु भिडाउने प्रयास पनि गरिरहेको छ । तर सबै बचतकर्ता सहकारीले भिडाउने जग्गा आफ्नो बचत रकममा समेत थपेर किन्न सक्ने अवस्थामा छैनन् । 

सहकारीले रकम फिर्ता नगरेर जग्गा दिन्छु भन्दा बचतकर्ता झन मारमा परेका छन् । त्यसैले सरकार र सम्बन्धित निकायले बेलैमा हस्तक्षेप गरी सञ्चालक र बचत अपचलन गर्नेको जायजेथाबाट भए पनि बचतकर्ताको बचत रकम फिर्ताको प्रक्रियामा जानु आवश्यक देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update