News 24 Television
चितवनमा रोपाईं महोत्सव, प्रधानमन्त्री पनि जाने 

काठमाडौँ । सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउने भएको छ । बिहीवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने बताएको हो ।

 समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि, आधुनिकिकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउँदै आएको बताए । उनले यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए । 

उनले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने योजना रहेको बताए । 

जलवायु परवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्युनिकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एंव उपलब्ध प्रविधिहरुको प्रचार गरी तीनको अवलम्वन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनु पर्ने यस वर्षको सन्देश रहेको पनि उनले बताए । 

संयोजक घिमिरेका अनुसार २०८१ असार १२ गतेसम्म देशभर ९.८ रोपाईं भएको छ । कोशी प्रदेशमा ५.६, मधेस प्रदेशमा २.९, वागमती प्रदेशमा १८.३, गण्डकी प्रदेशमा ८.३, लुम्बिनी प्रदेशमा ८.८,कर्णाली प्रदेशमा २३.९ र सुदूरपश्चिम प्रदेशमा २५.० प्रतिशत खेतमा धान रोपाईं भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update