काठमाडाैँ । सुन व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भएको र सरकारले सुनको भन्सार महसुल ५ प्रतिशतले वृद्धि गर्दा व्यवसायीहरुले आफू मर्कामा परेको भन्दै प्रर्दशन गरेका छन् । उनीहरुले सरकार समक्ष अवैधानिक एवम् कर छलेर आएको सुन पूर्ण रुपमा बन्द गराउनु पर्ने, बजारमा देखिएको अराजकताको अन्त्य गराउनु पर्ने माग अगाडि सारेका छन् ।
नेपाली सुन बजारमा अहिले रिद्धि सिद्धि ज्वेलर्स् एकतर्फ र अरु व्यवसायीहरु अर्काे तर्फ जस्तो देखिएका छन् । रिद्धि सिद्धि ज्वेलर्स्का मालिक नरेन्द्र कुमार गुप्ताले असार १५ गते सम्म सुन बिक्री गर्दा जर्ती नलिने घोषणा गरेपछि अन्य सुन व्यवसायीहरुले सुन बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै विरोध प्रर्दशनमा उत्रिएका हुन् ।
आन्दोलनरत व्यवसायीहरुले रिद्धि सिद्धि ज्वलसर्सले जर्ती नकाटी सुनका गहना बेच्ने भन्दै प्रचार गर्दा अरु व्यवसायीहरुले जर्ती लिएर उपभोक्तालाई ठगि गरेको सन्देश गएको र बजारमा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताएका छन् ।
जर्ती नलिई गहना बेच्दा सुनको काम गर्ने कालिगढहरुको रोजीरोटीमै असर पुग्नुका साथै अवैधानिक एवम् कर छली आएको सुन पसलमा प्रयोग भएको हुन सक्ने व्यवसायी बताउँछन् । विगतदेखि नै सुनमा जर्ती काट्ने चलन रहेको बताउँदै कुनै व्यक्तिले जर्ती नकाटी कारोबार गर्छु भन्नु भनेको बजारमा अस्वस्थ प्रतिस्पर्धा गर्नु भएको उनीहरुको भनाइ छ ।
सुन व्यवसायीहरुले सरकारले सुनमा लगाएको ५ प्रतिशत भन्सार बिरुद्धको आन्दोलनमा आफ्नो पनि ऐक्यवद्धता रहेको तर बजारमा भनिए जस्तो आफुले सुनमा अस्वस्थ प्रतिस्पर्धा नगरेको रिद्धिसिद्धि ज्वेलर्स्का सञ्चालक नरेन्द्र कुमार गुप्ता बताउँछन् । बरु आफुले उपभोक्ता ठगि हुन बाट बचाउने काम गरेको उनको तर्क छ ।
तर व्यवसायीहरुको एक आपसको लडाईले सुन बजारमा भित्रको कालो दृष्य देखाएको छ । एउटा पक्ष जर्ति नकाटेर उपभोक्तालाई राहत दिन्छु भन्दै गर्दा त्यही अर्कोपक्ष त्यसो गर्न हुँदैन भन्दै आन्दोलनमै उत्रिएका छन् । यस्तो नियामक निकायले के सही हो त्यसलाई ठम्याई उपभोक्ताको हितमा निर्णय गर्नु आवश्यक छ ।