News 24 Television
गोरखा मिडियामाथि अनुसन्धान, कसरी जोगिएलान् रवि ?

 काठमाडौँ । सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न बनेको संसदीय समितिले विभिन्न सहकारीका कागजात माग्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोपित गर्दै संसद अवरोध नै गरेपछि बनेको समितिले सक्रियता बढाउदै रविको पूर्व–कम्पनी गोरखा मिडियामा सहकारीबाट आएको रकमको विवरण समेत हेर्ने निर्णय गरेको हो । 

सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले ६ वटा बैठक सम्पन्न गर्दासम्म सहकारीबाट कागजात मगाउने निर्णयको मोडमा आइपुगेको छ । सहकारी ठगीमा हुने भनिएको अनुसन्धान र यसको निष्पक्षतामाथि प्रश्न उठिरहेको बेला निष्पक्षता कायम गराउने जिम्मामा छन्, समितिका सभापति तथा एमालेका सांसद सूर्य थापा । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत बनिसकेका थापा गएको निर्वाचनमा कांग्रेस–माओवादीसहितको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्यूठानबाट निर्वाचित भएका हुन् । खरो रुपमा आफ्ना कुरा राख्ने सांसद थापामाथि सहकारी पीडितलाई न्याय दिलाउने र छानविनलाई प्रभाव र दबाबरहित बनाउने चुनौति पनि उत्तिकै छ । यस्तोमा के थापाले आफ्नो गरिमा र राजनीतिक उचाई बढाउने गरि काम गर्न सक्लान् ? प्रश्न र शंका छ । 

सहकारी छानविन समितिले विभिन्न ९ सहकारीका कागजात माग्ने निर्णय गरेको छ भने रवि लामिछाने संलग्न रहेको गोरखा मिडिया प्रालिमा कुन सहकारीबाट रकम कसरी ट्रान्सफर भयो भन्ने विवरण माग्ने निर्णय गरेको समेत सभापति थापाले जानकारी दिएका छन् । 

समितिले आफ्नो काममा गति दिएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने समितिमा भन्दा पनि रास्वपामाथि आक्रोश पोखिरहेको छ । सहकारी प्रकरणमा रवि लामिछानेलाई जोगाउन रास्वपाले सम्पूर्ण बल प्रयोग गरिरहेको आरोप लगाइरहेको छ ।

आशंका र चर्चाका बीच गठित समितिले दिने नतिजा र अदालतमा विचाराधीन मुद्दापछि सहकारी ठगी प्रकरणबारे धेरै कुराको खुलासा भने हुने नै छ ।

थापामाथि आशंका किन ?

एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य थापा एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्रमध्ये एक हुन् । थापाले अध्यक्ष ओलीले दिने निर्देशनलाई शिरोपर गर्ने भएकाले पनि गोरखा मिडिया प्रालिमा भएको सहकारीको रकम दुरुपयोगबारे छानविन निष्पक्ष हुँदैन कि भन्ने आशंका कायमै छ । ओलीले रविको पक्षमा खुलेरै बोलिरहेको सन्दर्भमा पनि यस्तो आशंका गरिएको छ । तर, संसदीय समितिमा अन्य दलका प्रतिनिधि समेत भएकाले सहज स्थिति भने बन्ने छैन । 

थापालाई मौका

सहकारीको रकम दुरुपयोगका लागि बनेको समितिको नेतृत्व गरिरहेका थापाले छानविनलाई निष्पक्ष, विश्वसनीय र सर्वस्वीकार्य बनाउन सकेमात्रै पनि उनको राजनीतिक जीवनले थप उचाई लिने देखिन्छ । दबाब र प्रभावमा नपरी समितिको काम कारबाहीलाई अघि बढाउने चुनौतिका बीच काम गर्न सकेमा भने उनले आफ्नो जबरजस्त स्थान बनाउनेमा शंका छैन । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update