News 24 Television
पर्यटनका लागि जुर्मुराउँदै मधेश

पर्सा । नेपालको अर्थतन्त्र सुधारमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर छ । विभिन्न अध्ययनहरुले पर्यटन क्षेत्र प्रमुख सम्भावना मध्येको एक देखाएको छ । तर, सरकारले यसमा प्रभाकारी कदम चाल्नै सकेको देखिदैन । यस्तै अवस्थाका बीच मधेश प्रदेशमा पनि पर्यटनका सम्भावना र चुनौतिबारे सरोकारवालासँग छलफल हुन थालेको छ । 

मधेश प्रदेशमा पर्यटनको विकास गर्न सकेमात्रै मधेश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् । बुधबार मधेश प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, पर्यटन विकास कार्यालय वीरगंजले पर्यटन क्षेत्रबारे समग्र छलफलका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रिया एवम् संवाद कार्यक्रममा सहभागीहरुले मधेशमा पर्यटनको अत्याधिक सम्भावना रहेकोले यसलाई विकास गर्न सकेमात्रै मधेश प्रदेश समृद्ध हुने औल्याएका हुन् । 

मधेश सरकारले अगामी आर्थिक वर्षमा ‘घुमौं मधेश, बुझौं मधेश’ नारासहित पर्यटकलाई भित्र्याउने योजना ल्याएको छ । यसै योजनालाई अघि बढाउन मधेस प्रदेशले सक्रियता जनाएको देखिन्छ । पर्यटन क्षेत्रलाई गति दिन सरोकारवालाले चुरेलाई संरक्षण, हवाई कनेक्टीभिटी, सडक सञ्जालको विकास, धार्मिक तथा ऐतिहासिक संरचनाको विकास एवं सँस्कृतिको सरक्षणतर्फ ध्यान दिन सुझाएका छन् । मधेश प्रदेशमा ७० प्रतिशत भारतीय पर्यटक आउने भएकोले भारतबाट आउने पर्यटकलाई उचित बासको व्यवस्था गर्नुपर्ने समेत उनीहरुको भनाई छ । 

कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पर्यटन विकासको कुरालाई भाषणमा मात्रै सीमित नराख्न आग्रह गरे । 

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बाराको बरियारपुर स्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर पर्यटकीय स्थलको रुपमा रहेकोमा यसलाई संरक्षण एवं संम्वद्र्धनका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराए ।     पाँच वर्षमा लाग्ने गढीमाई मेलामा २२ देशका भक्तजनहरुको उपस्थिति हुने गरेको तर सरकारले यहाँ आउने भक्तालु एवं पर्यटकहरुको लागि व्यवस्थापन गर्न नसकेको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । 

कार्यक्रममा मधेश प्रदेश साँसद श्याम पटेल, जनाद्र्धन सिंह क्षेत्री, रहबर अन्सारी लगायतले प्रदेश सरकारले पर्यटन क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।  

 कार्यक्रममा उठेका विषयहरुलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विगतमा भएका गल्तीहरुलाई सच्याउँदै आगामी दिनमा प्रदेश सरकार पर्यटक विकासमा गम्भिर हुने प्रतिबद्धता जनाए ।   

मुख्यमन्त्री सिंहले नेपाल आउने पर्यटकहरुलाई सीमा क्षेत्रमा चेकजाँचको नाममा अनावश्यक सास्ती नदिन प्रहरी प्रशासनलाई निर्देशन समेत दिएका छन् । उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा पर्सा, बारा, रौतहटका स्थानीय तहका प्रमुख सहित सञ्चारकर्मी, होटल व्यवसायी, पर्यटन व्यवसायीहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो ।

 कार्यक्रममा पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले मधेश प्रदेशका जिल्लाहरुमा भएका पर्यटकीय स्थल एवं पर्यटकीय सम्भावनाबारे जानकारी गराएका थिए । 

 


 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update