News 24 Television
लागुऔषध प्रयोगमा वृद्धि, मानव जीवन नै संकटमा

काठमाडौँ । नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । भावनात्मक रिक्तताको अवस्था परिपूर्ति गर्न मानिसहरु लागुऔषधमा फस्ने गरेका छन् । अझं, खुला सीमानाका कारण पनि लागुऔषधको प्रयोग र कारोबार झाँगिएको बताइन्छ । 

नेपालमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गुणाले बढेकोे छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका थिए । यीमध्ये एक लाख २१ हजार छ सय ९२ पुरुष र आठ हजार सात सय ३२ महिला छन् ।

 प्रयोगकर्ताहरुमध्ये पनि ६९ प्रतिशत अर्थात ९० हजार भन्दा बढी प्रयोगकर्ताहरु सुईद्धारा लागुऔषध प्रयोग गरेको पाइएको तथ्यांक छ । ७५ प्रतिशत भन्दा बढी प्रयोगकर्ताहरु १५ देखि २४ वर्ष उमेर समूहका रहेका छन् । लागुऔषध प्रयोगकर्ताहरु दिन प्रतिदित बढ्दै जानुले नेपाली समाजमा थप चिन्ता बढाएको छ । यस्तोमा लागुऔषध प्रयोगकर्ता, व्यापारी र अपराधलाई एकै ठाउँमा राखेर नहेर्न जानकारहरू सुझाउँछन् । 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार गत जेठ मसान्तसम्ममा लागुऔषध अपराधमा पाँच हजार तीन सय ३९ जना पक्राउ परेका छन् । त्यस्तै तीन हजार पाँच सय एक वटा लागुऔषध मुद्दा दायर भएका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै सरकारले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । 

सन् १९५४ देखि नै विश्व स्वास्थ्य सङ्गठनले लागुऔषध सेवन गर्ने कुलतलाई विश्वकै दोस्रो खतरनाक रोग मान्दै आएको छ । लागुऔषध नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायको सन् २०२३ को प्रतिवेदनअनुसार विश्वमा १५ देखि ६४ वर्ष उमेर समूहका प्रत्येक १७ जनामा एक जना लागुऔषध सेवन गर्छन् । त्यसमा लागुऔषधको अवैध ओसारपसार तथा सेवन नेपालका लागि चुनौतीको विषय बनेको छ । सीमा क्षेत्रमा मात्र नभई जुम्ला लगायतका हिमाली जिल्लाहरुमा समेत लागुऔषधको दुव्र्यसनी विकराल बन्दै गएको देखिन्छ । 

लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार गर्न नहुने विषयमा सचेतना फैलाउने विषय पाठ्यक्रममै समावेश भने अझै हुन सकेको छैन । पाठ्यक्रममा विज्ञान र गणित मात्रै नभएर समाजको आवश्यकतालाई पनि समावेश गर्न आवश्यक छ । 

‘प्रमाण स्पष्ट छः रोकथाममा लागनी गरौँ’ भन्ने अन्तर्राष्ट्रिय र ‘लागुऔषध दुरुपयोगविरुद्ध लडौँः रोकथाममा जोड दिऔँ’ नाराका साथ विश्वभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवस मनाइएको छ । लागुऔषध दुव्र्यसन नियन्त्रणमा सरकार, समुदाय र आम नागरिकको उत्तिकै भूमिका रहेकोले सामाजिक तिरष्कार भन्दा पनि दुव्र्यसनीमा फसेकालाई सुध्रने मौका दिन आवश्यक छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update