News 24 Television
आफै श्रमिक, आफै मालिक भन्दै सुरुग गरिएको कागज उद्योग

बाँके । अर्थतन्त्रमा आएको संकुचन र यसले निम्त्याएका जोखिम न्यूनिकरणका लागि उद्योगहरुले जनशक्ति कटौतिदेखि बन्द हुने स्थिति पछिल्लो समयको नियति बनिरहेको देखिन्छ । तर, आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको नेपालगञ्जमा १२ करोड लगानीको कागज उद्योग सञ्चालनमा आएको छ । यसले रोजगारी सिर्जना र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको  छ । 

आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको भन्ने मुल नाराका साथ बाँकेको राप्तीसोनारीे गाउँपालिका २ मटैयामा झण्डै १२ करोड लगानीमा कागज उद्योग संचालनमा आएको छ । उद्योगले  दैनिक २ टन कागज उत्पादन गर्न सक्ने गरि तयार गरिएको छ । 

स्वदेशमै प्रशस्त मात्रामा पाईने वा उत्पादन गर्न सकिने बावियो, पराल, गहुँको नल, अम्लिसो, बाँस, ऊँखु, कपास लगायत फाईवरयुक्त पदार्थ प्रशोधित गरि दैनिक ३०० मेट्रिक टन पल्प बनाई विभिन्न साईजका पेपर उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका निर्देशक राजेन्द्र चौधरीको भनाइ छ । 

प्रत्यक्ष र अप्रत्यक्षरुपमा स्वदेशभित्रै रोजगारी सिर्जना गर्ने कम्पनीको लक्ष्य रहेको कम्पनीको योजना छ । आफै श्रमिक आफै मालिक भन्ने मूल नारालाई आत्मसाथ गर्दै स्थानीय जनतालाई उद्योगको न्यूनतम् शेयरमा जोड्ने, उद्योग सम्वन्धि तालिम दिने र दक्ष प्राविधिक निर्माण गरि स्व–रोजगार बनाउँदै लैजाने कम्पनीको ध्येय अनुसार कार्य अगाडी बढेको लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कृष्णा के सी नमुनाले बताइन् ।  

हाल ५३ जना स्थानियले रोजगारी पाएका छन् । उद्योगले स्थानियवासीलाई स्वरोजगार बनाउन ३ महिना प्रशिक्षण दिई दक्ष बनाएको बताएको छ । २३ जनालाई स्वरोजगार बनाई ९ जना महिलालाई मेसिन चलाउन सक्ने दक्ष बनाएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update