News 24 Television
कस्तो छ लुम्बिनीको झण्डै ३९ अर्बको बजेट ? 

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि ल्याएको बजेट पारित गरेको छ । बुधवार लुम्बिनी प्रदेशसभामा बहुमत सांसदको समर्थन सहित रु ३८ अर्ब ९७ करोड बराबरको बजेट पास भएको हो । लामो समय संसदीय अभ्यास पुरा गर्दै बजेट जस्ताको तस्तै पारित गरिएको छ । 

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि ल्याएको बजेट प्रदेशसभाबाट पारित भएको छ । बुधवार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले विनियोजन विधेयक सम्बन्धी प्रस्ताव पेश गरेका थिए । 

गत असार १ गते प्रस्तुत भएको बजेट माथि मन्त्रालयगत रुपमा छलफल समाप्त भएर त्यसमाथि विभागिय मन्त्रीहरूले जवाफ समेत दिएका छन् । गत सोमबारबाट सुरु भएको छलफल तीन दिन लगातार चलेको थियो ।

विभिन्न मन्त्रालयको बजेटमाथि तीन दिन छलफल भएको थियो । सम्वन्धित मन्त्रालयका मन्त्रीहरुले छलफलमा उठेका प्रश्नहरुको जवाफ समेत दिएका छन् । यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा, लोकसेवा आयोग र मुख्यन्याधिवक्ताको कार्यालयको बजेट माथी बुधबारको पहिलो बैठकमा छलफल भएको छ ।

बजेट छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले सरकारले ल्याएको बजेटमा सन्तुलनको अभाव देखिएको, मन्त्री र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित भएको जस्ता विषयहरु उठाएका छन् । प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले बजेटलाई समावेशी बनाउने सबै तहबाट प्रयास गरिएको बताए ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको लागी ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रूपैयाँको बजेट ल्याएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात २८ प्रतिशत र पूँजीगततर्फ २४ अर्ब ५८ करोड, ५९ लाख रूपैयाँ अर्थात ६३ प्रतिशत रहेको छ । 

त्यस्तै, वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख अर्थात ८ दशमलज ०६ प्रतिशत हुने अनुमान सरकारको छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update