काठमाडौं । सरकारले ल्याएको बजेटमाथि प्रमुखतः सत्ता पक्षकै दल तथा नेताहरुबाटै असन्तुष्टि थियो । सुरुमा मौन रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत भएको झण्डै एकसातापछि बजेटका सन्दर्भमा टिप्पणी गरे । ओलीले बजेट एकोहोरो तरिकाले ल्याएको औल्याउने देखि अर्थमन्त्री र माओवादी पार्टीकोजस्तो मात्रै भएको भन्दै आलोचना गरेका थिए ।
सत्ता साझेदार दल भित्रकै सबैभन्दा ठूलो पार्टी एमाले अध्यक्ष ओलीले बजेटमाथि यस्तो टिप्पणी गरेपछि गठबन्धनमा खटपट आएको त हैन ? भन्ने आम शंका पैदा भएको थियो । यसपछि एमालेले औपचारिक रुपमा संसद र दलको बैठकमै पनि सरकारको नीति तथा कार्यक्रममाथि प्रश्न उठायो ।
बजेटमाथि एमालेले निरन्तर आलोचना गर्दा सत्ता समीकरणमा गम्भीर संकट पैदा भएको र नयाँ समीकरण फेरिनेसम्मको आंकलन भयो ।
बजेटमाथि सरकारकै नेतृत्व गरिरहेको दल माओवादी केन्द्रकै सांसदहरुले पनि टिप्पणी गर्दा संसदमा केही अस्वभाविक दृष्य देखियो । तर माओवादीका सांसदहरुबाटै त्यसप्रकारको टिप्पणी आउनु बजेट निर्माणका क्रममा एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीको निर्देशन अटेर गर्नु प्रमुख कारण रहेको खुल्न आयो ।
जुन प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले संसदमै दिएको अभिव्यक्तिले पुष्टि गरेको छ । बजेटकै विषयलाई लिएर एमालेले आफूहरु सरकारमा जाने लक्ष्य र सरकारले गरिरहेको कार्यहरु विपरित भएको भन्दै गठबन्धन नै धरापमा पर्नसक्ने संकेत पनि गरेको थियो ।
आफूहरु सरकारमा जानुको औचित्यलाई नै प्रधानमन्त्रीले मार्न खोजेको भन्दै एमाले असन्तोश बन्यो । तर एमाले सहित प्रतिपक्ष दलहरुकै आलोचनाको बीच मंगलबार बजेट बहुमतले पारित भएको छ । सांसदहरुका आलोचनासहितको प्रश्न र प्रधानमन्त्रीको जवाफको समाप्तिसँगै बजेट पारित भयो ।
बजेटको सम्बन्धमा हुने गरेका छलफल र बहसले नीति तथा कार्यक्रम परिमार्जन नहुने भन्दै यसको औचित्यमाथि विगतदेखि नै सांसदहरुले प्रश्न उठाउने गरेका छन् ।
यसपटक पनि सत्तारुढ दल नेकपा एमालेबाट सुरुमा गम्भीर रुपमा आलोचना भएको थियो । बजेटमाथि अन्य दलहरुले पनि खुलेरै आलोचना गरेपनि अन्तिममा आएर कुनै विनपरिमार्जन पारित भएको छ ।
एमालेले भने बजेट पारित गर्न आफ्ना सांसदहरुलाई ह्वीप नै जारी गरेको थियो । पारित भएपछि अध्यक्ष ओलीले भने बजेट राम्रो भएकै कारण यसको पक्षमा बहुमत जुटेको प्रतिक्रिया दिए ।
एकातिर एमालेले बजेटमाथि आलोचना र असन्तोष व्यक्ति गरिरहँदा अर्कोतिर प्रधानमन्त्री प्रचण्ड भने वर्तमान सरकार निरन्तर रहने भन्दै प्रष्टिकरण दिन व्यस्त थिए । एमालेको असन्तुष्टिबाट कतिपनि प्रभाविन नबनेका प्रचण्ड हालको अंकगणित नै जादुमय रहेको भन्दै संसदको बाँकी कार्यकाल आफ्नो नेतृत्वकै सरकार कायम हुने दावी गरिरहे ।
यसका अलावा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि सन्तुलित सम्बन्धमा रहेका प्रचण्डले एमालेले सरकारप्रतिको समर्थनमाथि पुनरविचार नगर्नेमा ढुक्क देखिन्थे । बजेटकै सन्दर्भमा सरकारमाथि असन्तुलितताको आरोप लाग्ने गरेपनि यस्तो हुनुमा एमालेकै मन्त्रीहरुको हात रहेको पोेल पनि सांकेतिक रुपमा खुल्नेको थियो ।
यो अवस्थामा एमाले विरोधका लागि मात्रै विरोध मात्रै गर्नमा लागि परेको भन्ने टिप्पणी समेत भयो ।
उता प्रधानमन्त्रीले भने सोचेजति राम्रो बजेट नबनेपनि तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको दावी गरेका छन् । तर बजेटमाथि सुरुमा ठूलै विरोध र टिप्पणी गरेर हंगामा गर्न खोजेको एमाले वर्तमान सरकारको विकल्प नदेखेपछि अन्तिममा आएर बजेटको पक्षमा उभिन बाध्य भएकोे हो ।