News 24 Television
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमालेको आग्रह

काठामडौँ । नेकपा(एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । 

बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेका हुन् । 

सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौं लगायतका २८ जिल्लामा आगामी साउन १ गतेदेखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ । वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरुले माग गरेका छन् । 

काठमाडौंका पालिकाहरुमा सिमित स्रोत, साधन रहेको र समयमै सबैलाई परिचयपत्र उपलब्ध गराउन नसक्ने भन्दै समयावधिमा पुनःविचार गर्न गृहमन्त्रीलाई आग्रह गरिएको नेता कृष्णगोपाल श्रेष्ठले बताए । उनले आवश्यक पर्दा समय थप गर्न आग्रह गरिएको र गृहमन्त्रीले सकारात्मक रुपमा लिएको जानकारी दिए ।
 
‘त्यो अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसक्दा आजसम्म लिइ आएको वृद्ध भत्ता लिन पाइएन,’ उनले भने, ‘यो ज्येष्ठ नागरिकहरुको पीडाको विषय भयो । यसलाई व्यवहारिक गर्नको लागि आवश्यक पर्दा यसको समय थप गर्नुपर्ने स्थिति पनि हुन्छ । गृह प्रशासनले पनि यसलाई सहजीकरणको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो । गृहमन्त्रीले हाम्रो कुरालाई अत्यन्त सकारात्मक ढंगले लिनुभएको छ । कुनैपनि हालतमा व्यवहारिक रुपमा समस्या उत्पन्न हुन नदिने गरी सुझावलाई कार्यान्वयन गर्छु भन्नुभयो ।’

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update