काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन मन्त्रीहरुले कार्यस्थलमा नै गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् ।
बुधवार ताहाचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो उक्त कुरा बताए । उनले मन्त्रीहरुले मन्त्रालयमा बसेर निर्देशन दिने भन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरुलार्ई उत्साह जगाउन आवश्यक रहेको बताए ।
उनले एक घण्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवाग्राहीलाई कसरी सेवा दिइरहेको विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए । उनले एक घण्टामै अनलाइनमार्फत श्रम स्वीकृत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिका लागि आउन सेवाग्राहीको चाप घटेको बताए ।
‘एक घण्टामा श्रम स्वीकृत गर्ने काम धेरै मेहनतपछि कार्यान्वयनमा ल्याएका छौं,’ उनले भने, ‘त्यसको प्रभाकारी कार्यान्वयन भएको छ की छैन भन्ने अनुगमन थियो । श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरु कमी देखिएको छ । श्रम स्वीकृत भएको विभागको ठाउँ व्यवस्थित भएको छ । कर्मचारीहरुले अत्यन्तै शान्त रुपमा काम गर्नु भएको छ । श्रम विभागबाट हुने सेवामा सुधार भएको छ । त्यसले गर्दा सेवाग्राही विभागमा आइरहनु परेन । ठगिनु भएन । मन्त्रीले मन्त्रालयमा बसेर निर्देशन र आदेश मात्रै दिने होइन । कार्यस्थलमा कर्मचारीहरुको अवस्था र उहाँहरुलाई उत्साह जगाउन जरुरी छ ।’
मन्त्री अर्यालले श्रम विभागबाट हुने सेवामा सुधार भएसँगै सेवाग्राहीहरु विभागमै धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।