News 24 Television
बजेटमा गैरजिम्मेवारीपन : लुम्बिनीको बजेट पुग्यो गण्डकी

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१\८२ को बार्षिक बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिकामा बजेट विनियोजन भएको भेटिएको छ । 

मंगलवार लुम्बिनी प्रदेश सभामा बजेट माथीको छलफलमा लुम्बिनी सरकारले गण्डकीमा बजेट विनियोजन विषयले प्रवेश पाएसंगै चौतर्फी आलोचना भैरहेको छ । 

लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष २०८१\८२ को बार्षिक बजेट तथा कार्यक्रम(रेडबुक)मा गण्डकी प्रदेशमा बजेट विनियोजन गरेको भेटिएको हो । 

लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिकामा बजेट विनियोजन गरेको छ । 

मंगलवार लुम्बिनी प्रदेश सभामा बजेट माथी छलफलको क्रममा राष्ट्रिय जनमोर्चीकी प्रदेशसभा सदस्य तारा थापाले लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशमा बजेट विनियोजन गरेको विषय प्रवेश गराएकी हुन् । 

प्रदेश सभा सदस्य थापाले लुम्बिनी प्रदेश सरकारले गण्डकीका जनताले माग गरे बमोजिम त्यहाँका लागि बजेट विनियोजन गरिएको हो ? भन्दै प्रश्न गरेकी थिइन् । 

प्रदेश सभा सदस्य थापाले विषय प्रवेश गराए पछि सिंगो सदनको ध्यानाकर्षण भएको थियो । लुम्बिनीले गण्डकीमा बजेट विनियोजन भएको कुरालाई सरकारले प्रष्ट पार्नु पर्ने प्रतिपक्षी दल नेपाली काँग्रेसको माग छ । 

लुम्बिनी प्रदेशको रेडबुकको पृष्ठ नं.११९को क्र.श. ११५४ नम्बरमा वन तथा वातावरण मन्त्रालय अन्तरगत नै रहने गरी साङ्लोले बाँधेको ढुङ्गा जैविक विविधता पार्क निर्माण तथा व्यवस्थापन, अन्नपूर्ण गाउँपालिका ४ कास्कीमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर प्रदेश सरकारले प्राविधिक समस्याले यस्तो हुन गएको भन्दै कमजोरीको ढाकछोप गरेको छ । 

एक प्रदेशको बजेट अर्को प्रदेशमा परेको विषय यो पहिलोपटक होईन । यसअघि पनि विभिन्न प्रदेशका बजेटहरु अन्य प्रदेशमा विनियोजन भएका तथ्यहरु सार्वजनिक भएका थिए । प्रदेश सरकारको गैरजिम्मेवारीका कारण प्रत्येक वर्ष बजेट बिनियोजन गर्दा यस्ता त्रुटिहरु देखिदै आएका छन् । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update