काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आलोचना र टिप्पणीमा खरो उत्रिन थालेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर सरकारप्रति टिप्पणी गर्दै पार्टी निर्माणमा जोड दिन अपिल गरिरहेका छन भने केहि नेताहरुले सरकारको कामप्रति अझ सशक्त प्रश्न गरिरहेका छन् । यस्तोमा कांग्रेस नेतृत्वले कस्तो रणनीति तय गर्ला ? यो विषय चासोमा छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि केहि समय प्रधानमन्त्री प्रचण्डमाथि राजनीतिक रुपमा दोषारोपण गर्नेमै केन्द्रित बन्यो ।
प्रचण्डले त्यसको प्रतिवाद सामान्य ढंगले गरेपनि पछिल्लो समय कांग्रेस सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका शीर्ष नेतामाथि चर्को प्रहार गरिरहेको देखिन्छ । सुशासनको नारा दिदै सरकारमा रहेको रास्वपालाई अहिले सहकारी ठगी प्रकरणमा आफ्नो सभापति जोगाउनेबाहेकको चिन्ता नभएको टिप्पणी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको छ ।
महामन्त्री शर्माले जस्तै कांग्रेसले संसदमा समेत रास्वपा र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न गरिरहेको छ ।
सहकारी ठगीमा जनता प्रताडीत बनिरहेको बेला कांग्रेसले यो विषयलाई प्रमुख मुद्दा बनाएर प्रहार गरिरहेको बेला अर्का महामन्त्री गगन थापा अब सरकारमा जाने कुरा सोच्न नहुनेमा केन्द्रित छन् ।
उनले कांग्रेसलाई सफा गर्ने र पार्टी निर्माणमा जुट्नुपर्ने भन्दै जादुयी नम्बर छ भनेका प्रधानमन्त्री प्रचण्डलाई नै उछलकुद गर्न छाडिदिउँ भनिरहेका छन् ।
उसोतः प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीसँग जादुयी नम्बर भएकाले प्रधानमन्त्रीबाट आफूलाई कसैले हटाउन नसक्ने दाबी गरिसकेका छन् । एमाले–कांग्रेसलाई तरबार देखाएर सत्ता नेतृत्व गरिरहेका प्रधामन्त्रीलाई अहिले यहि बोली भारी परिरहेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा भन्दा पनि जादुगरको रुपमा व्याख्या गर्नुपर्ने त होइन भन्दै प्रश्न गरेका छन् ।
कांग्रेसले सरकारमाथि अनेक प्रश्न गर्दै प्रतिपक्षीको भूमिकालाई सशक्त बनाउन खोजिरहेको बेला पार्टी सभापति शेरबहादुर देउवा भने सबै मिलेर देशको विकास समृद्धिमा जुट्नुपर्ने अपिल गरिरहेका छन् ।
यद्यपी कांग्रेस प्रतिपक्षमा आइसकेपछि सत्तामा जान आन्तरिक तयारी भने गरिरहेकै छ । पार्टीमा प्रतिपक्षी भावना जागृत गराउन भन्दा सामान्य आलोचना गर्ने र प्रधानमन्त्री प्रचण्डमाथि सफ्ट कर्नर राख्ने कामले पनि शंका उब्जाएको छ ।
यसले कांग्रेसको भूमिका अब कस्तो होला भन्ने प्रश्न सिर्जना गरेपनि दोश्रो तहका नेताहरुमा भने सशक्त प्रतिपक्षी बनेर पार्टी निर्माण गर्ने र अन्ततः पार्टी नेतृत्व लिने रणनीति नै तय गर्नेमा ध्यान केन्द्रित देखिन्छ ।