News 24 Television
जिबी पक्राउ नपर्नु रविको टाउको दुखाइको विषय बन्दै 

काठमाडौैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणसँग जोडिएको विषयले सत्ता पक्ष र प्रतिपक्षबीच लामो समय जुहारी चल्यो । सत्ता पक्षले रविको सक्दो बचाउ गर्दापनि प्रतिपक्षी दल नेपाली काँग्रेसले निरन्तर आन्दोलन गर्दै पछि नहट्ने अडान लियो ।

यही अडानका कारण संसद बैठक नै पटक पटक प्रभाववित बनेपछि सत्ता पक्ष सहकारी ठगी प्रकरणको सम्बन्धमा संसदीय छानविन समिति बनाउन तयार भयो । 

यो समझदारी पछि पनि समितिले रविलाई नै इंगित गरेर वा समग्र सहकारीको विषयमा अनुसन्धान गर्ने भन्ने विषयमा बहस चल्यो । 

रविप्रति नै इंगित गरेर अनुसन्धान गरिनुपर्ने अडानबाट काँग्रेस पछि हटेपछि समग्र सहकारीको विषयमा छानविन गर्ने क्षेत्राधिकार सहित समिति बनेको छ । 

उक्त समितिले कार्यबिधि समेत पारित गरिसकेको छ भने गृहमन्त्री रविसँग बयान समेत लिइने बताइँदै आएको छ । तर, तालुकदार निकाय प्रहरी प्रशासनले नै रविविरुद्धका जाहेरी समेत गायब पारिरहेको आरोप पनि लागिरहेको छ । संसदीय छानविन समितिको अनुसन्धान र आरोपबीच गृहमन्त्री रवि सहकारी प्रकरणकै कारण फेरि संकटतर्फ धकेलिएका छन् ।

सत्ताभित्रैबाट ओलोचना र प्रतिपक्षीको गम्भीर आरोप र प्रश्नले रवि पुनः अफ्ठ्यारो अवस्थाम पुगेका छन । 

सुरुमा प्रतिपक्षी दल नेपाली काँग्रेसले रवि संलग्न विभिन्न प्रमाण रहेको दावी गर्दै आएको थियो । तर रविले उक्त आरोप अस्वीकार गर्दै संसदीय छानविन समिति चाहेका थिएनन् । 

यतिमात्रै होइनकी ग्यालेक्सी फोरकै टीभीमा व्यावसायिक साझेदार रहेका जीबीलाई अघिल्लो सरकारले पक्राउ गर्न नचाहेको देखि भगाएको आरोप गृहमन्त्री रविले नै लगाएउँदै आएका छन् । तर आँफैमाथि संलग्नता आरोप लागेको सहकारी प्रकरणको मुख्य पात्र जिबी नै हुन भन्ने निश्कर्षमा पुग्दा पनि रवि जिबीलाई पक्राउ गर्न सफल भएका छैनन् । 

रवि सरकारमा आएको पनि सय दिन नाघिसक्यो । सत्तामा आउनुअघि देखि नै रविको नाम सहकारी ठगी प्रकरणमा जोडिँदै आएको थियो । आफूमाथि सहकारीको करोडौँ रकम ठगी गरेकोे गम्भीर आरोपदेखि छानविन समितिसमेत बनिरहँदा घटनाका मुख्य कारक जिबीलाई पक्राउ गर्न सकेका छैनन् । जबकी रविले जिबी जहाँसुकै भएपनि पक्राउ गरेरै छाड्ने घोषणा गरेको पनि महिनाँै भइसक्यो । 

जिबी राईविरुद्ध नेपाल प्रहरीले गत माघमै इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरिसकेको छ । त्यसयता प्रहरी र गृहमन्त्रीले नै जिबी मलेसियामै रहेको जिकिर गर्दै आइरहेको छन्। तर लामो समयसम्म पनि पक्राउ गर्न प्रहरी असफल भएको र संसदमै यसबारे चर्को आवाज उठेपछि प्रहरीले मलेसियासँग सुपुर्दुगी सन्धी नहुँदा जिबीलाई नियन्त्रणमा लिन नसकिएको प्रष्टिकरण दियो । 

हुन त जीबी पक्राउ गर्न गृहमन्त्री रविले मलेसियाका समकक्षीसँग पटक पटक संवाद गरेको खुल्ने गरेको छ । तर रविले यो विषयलाई गोपनीयता कारण बनाउँदै सुचना सार्वजनि गर्ने गरेका छैनन् । यद्यपि केही दिन अघि चितवन पुगेका रविले जिबी पक्राउ गर्न मलेसिया सरकारसँग निरन्तर संवाद भइरहेको उल्लेख गरेका थिए । 

उपलब्धि नदिइन पक्राउ नजिक पुगेको र उनको लोकेशन पत्ता लगाएको भन्दै ढुलमुले जवाफ दिने गरेको रविमाथि आरोप लाग्ने गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि यही विषयलाई पुनः संसदमा उठाउँदै गृहमन्त्री रवि नै जिबी भगाउन लागि परेको त हैनन् ? भन्ने शंका व्यक्त गर्न थालेको हो । त्यस्तै सरकारले चाहेमा सुपुर्दुगी सन्धीविनै कुनैपनि देशले अभियुक्त पक्राउ गर्न सक्ने प्रतिपक्षीको दावी छ ।

प्रमुख प्रतिपक्षी दल मात्रै होइन, पछिल्लो समय सत्ता पक्षकै नेताहरु पनि रविमाथि आलोचनामा उत्रिन थालिसकेका छन् । गृहमन्त्री रविको विगतको अभिव्यक्तिसँग सहकारी प्रकरणमा खेलेको भुमिका अमिल्दो भएको भन्दै सरकारकै मन्त्रीहरु फायर खोल्न थालेका छन् । 

जिबी मलेसियामा रहेको दावीे तथा पक्राउको नजिक पुगेको अभिव्यक्ति दिइरहने तर ठोस नतिजा भने नदिने विषयमा उठेको प्रश्नले गृहमन्त्रीमाथि नैतिक दवाब बढेको छ । 

त्यस्तै सहकारीको विषयमा संसदीय छानविन समितिले रविमाथि वयान लिने र जाहेरी नै गायब गरिरहेको भन्ने आरोपले पनि रविलाई थप संकटमा पार्ने निश्चित छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update