News 24 Television
जनकपुरधाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  आजदेखि

धनुषा । जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा  संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो ।  

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्नहुने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए ।  दुई दिनसम्म चल्ने महोत्सवमा  ललका पाग, लोटस ब्लुम्स र समानान्तर गरेर तीनवटा ‘फिचर फिल्म’को प्रदर्शन हुने उनले बताए ।  

यसैगरी वृत्तचित्र गुमकी र विद्यापति तथा लघुफिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुनेछन् । यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको जनाइएको छ । 

'हामीले चलचित्र प्रदर्शनीसँगै अन्तक्र्रियात्मक कार्यक्रम गर्दैछौँ, यस महोत्सवको उद्देश्य मुलतः मैथिली भाषामा बनिरहेका चलचित्रलाई हेर्नु र स्थानीयले त्यसलाई कसरी लिइरहेका छन् भन्ने विषयमा बुझ्नु हो,' कार्यक्रम संयोजक रञ्जनले भने । उनले मैथिलीभाषीको सङ्ख्या धेरै रहे तापनि यसले चलचित्रको विकास नहुनुका कारण पत्ता लगाउन यस्ता महोत्सव आवश्यक रहेको बताए ।

उनले सन् १९५० को दशकदेखि नै मैथिली भाषामा चलचित्र बनिरहे तापनि पछिल्लो समय सङ्ख्यात्मक र गुणात्मक रूपमा कमी आएकाले यस्ता महोत्सव आवश्यक रहेकामा जोड दिए ।  महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुचलचित्रतर्फ ‘अफवाह’ प्रदर्शन गरिनेछ । यस्तै  भारतमा निर्मित चलचित्रतर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ र लघुचलचित्र ‘रक्त तिलक’ प्रदर्शन गरिने जनाइएको छ । 

साथै महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तरक्रिया समेत गरिने छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update